शनिबार, असोज ५, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०२:२३ |सिड्नीको समय: ००:२३ |काठमाडौंको समय: २०:०८

अबको प्रधानमन्त्री माधवकुमार नेपाल !

एएनजेड खबरफ्रेब्रवरी ४, २०२४

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार चलाएको एक वर्ष बितेसँगै सत्ता गठबन्धनभित्र सरकार परिवर्तन र माधव नेपाललाई प्रधानमन्त्री बनाउने अभिव्यक्तिले राजनीतिक वृत्तमा हलचल आएको छ।

सरकारको आगामी नेतृत्व नेकपा एकीकृत समाजवादीका अध्यक्षलाई दिने भन्ने कांग्रेस नेताहरूले अभिव्यक्ति दिएपछि राजनीतिक तहमा हलचलसँगै बहस शुरू भएको हो। नेपाल प्रधानमन्त्री बन्ने हल्ला चलेपछि प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कटाक्ष गरेका छन् ।

शनिबार सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकपछि सत्ताको प्रमुख सहयात्री दल नेपाली कांग्रेसका नेताहरूको अभिव्यक्तिप्रति कटाक्ष गर्दै ओलीले लोकतन्त्र नै समाप्त पार्ने गरी राजनीतिक चलखेल भइरहेको बताए ।

उनले कांग्रेस नेताहरूको अभिव्यक्तिलाई इंगित गर्दै भने– ‘सत्तारुढ नेपाली कांग्रेसका एक उच्च पदाधिकारीले नै स्वतन्त्र सांसदलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएका छन्। देश कहाँ पुगेछ। कांग्रेसका नेताले नै स्वतन्त्र हैसियतको सांसदलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्नुभयो।’

ओलीले अहिले देशको अवस्था अत्यन्तै खराब भएको भन्दै यसबाट जोगिन सबैलाई अपिलसमेत गर्नुभएको छ। कांग्रेसको संस्थापन पक्षका पूर्वपदाधिकारीहरूले नै माओवादी केन्द्रको नेतृत्वको सरकारपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने अभिव्यक्ति राजनीतिक बहसको विषय बनेको विश्लेषकहरू बताउँछन्।

नेपाली कांग्रेसका प्रभावशाली नेताहरू शशांक कोइराला र विमलेन्द्र निधिले केही दिनअघि मात्रै वर्तमान सरकारको कार्यसम्पादनलाई लिएर असन्तुष्टि जनाउँदै पूर्व–सहमतिअनुसार एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा राखेका थिए।

नेता डा.शशांक कोइरालाले सहमतिअनुसार अब एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका थिए । त्यस्तै, गत बुधबार पूर्वउपसभापतिसमेत रहेका कांग्रेस नेता विमलेन्द्र निधिले सत्तारूढ दलहरूबीचको सहमतिअनुसार समाजवादीका अध्यक्ष नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताए ।

‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार गठन हुँदा माओवादी केन्द्र, नेपाली कंग्रेस र एकीकृत समाजवादीले आलोपालो प्रधानमन्त्री चलाउने सहमति भएको थियो। सोही सहमतिलाई कार्यान्वयन गर्दै गठबन्धनलाई दीर्घकालीनरूपमा अघि बढाउन शीर्ष नेताहरू सहमत हुनुपर्ने नेताहरूले बताएका छन्।

सत्ता गठबन्धनको भविष्यलाई लिएर आशंका व्यक्त भइरहेका बेला नेता निधिले गठबन्धन दलका साथै कांग्रेसका नेता कार्यकर्तालाई त्यही समझदारीको पक्षमा रहिरहन आग्रह गरे ।

कांग्रेसकै कतिपय नेताहरूले गठबन्धनको काम नभएको वा सरकार फेर्नुपर्छ भन्ने ढंगका कुरा गर्न खोजेकोप्रति नेता निधिले अहिले गठबन्धन भत्काउन खोज्नु भनेको आफ्नै खुट्टामा बन्चरो हानेसरह हुने दाबी गरे ।

तपाइँको प्रतिक्रिया