शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ००:३३ |सिड्नीको समय: २२:३३ |काठमाडौंको समय: १८:१८

एनआरएनए छिन्नभिन्न भएपछि यूएनडिओ नामक संस्था दर्ता

एएनजेड खबरफ्रेब्रवरी १, २०२४

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) जस्तै अर्को संस्था दर्ता भएको छ । एनआरएनएको १०औँ महाधिवेशनबाट समानान्तर गतिविधि गर्दै आएका पूर्वअध्यक्ष शेष घलेले हाल आएर पूर्णतः नयाँ बाटो रोजेका छन् ।

घलेको योजनामा पूर्वअध्यक्ष सोनाम लामाले युनाइटेड नेपाली डायस्पोरा संगठन (यूएनडिओ) संस्था दर्ता गराएका हुन् । यूएनडिओ विदेशी पासपोर्ट लिएका नेपाली मूलका विदेशीमात्र सदस्य रहने जनाइएको छ ।

घलेले १० औँ महाधिवेशनमा छुट्टै अधिवेशन गरेर विनोद कुँवरको नेतृत्वमा एनआरएनए बनाएका थिए । सो एनआरएनएले मार्चमा विश्व सम्मेलन गर्ने तयारी गरिरहेको बेला घलेको योजनामा अर्को संस्था पनि जन्माइएको हो । यससँगै कुँवर नेतृत्वको एनआरएनएको भविष्य अब के हुने भन्ने चासो समेत उत्पन्न भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार २९ पुस २०८० मा परराष्ट्र मन्त्रीस्तरीय निर्णयअनुसार गैरआवासीय नेपाली सम्बन्धी ऐन २०६४ तथा गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ बमोजिम यूएनडिओ दर्ता गरी प्रमाणपत्र प्रदान गरिएको हो । लामाले गतवर्ष यही संस्था दर्ता गर्न परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए । तर, पराराष्ट्रले छुट्टै संस्था दर्ता गर्न अस्विकार गरेपछि उनी गत साउनमा सर्वोच्च पुगेका थिए ।

सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यूएनडीओ जस्तै अन्य संस्था दर्ताका लागि बाटो फुकाएको थियो । हाल एनआरएनएमा छिन्नभिन्नजस्तै अवस्थामा देखिएको छ । ११ औँ महाधिवेशनबाट समेत दुई समूह अस्तित्वमा रहेको छ ।

तपाइँको प्रतिक्रिया