शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ००:३८ |सिड्नीको समय: २२:३८ |काठमाडौंको समय: १८:२३

विमानस्थलमा कर्मचारी र प्रहरीबीच कुटाकुट घटनामा सरकारको एक्सन

एएनजेड खबरफ्रेब्रवरी १, २०२४

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सुरक्षार्थ खटिएका डीएसपी रेवतीरमण पोखरेललाई कमाण्ड सम्हाल्न नसकेको आरोप लागेको छ ।

विमानस्थलमा कर्मचारी र प्रहरीबीच भएको कुटाकुट प्रकरणमा डीएसपी पोखरेल मातहत रहेका प्रहरीले कर्मचारीमाथि कुटपिट गरेकोले उनले कमाण्ड सम्हाल्न नसकेको भन्दै लिखित सचेत गराउन सिफारिस गरिएको छ ।

साथै अधिकृत छायाँलाल मोक्तानलाई अध्यागमन कार्यालयबाट हटाइ विभागीय कारबाही गर्न र कुटपिटमा संलग्न असई प्रकाश चौधरीलाई निलम्बन गर्न सिफारिस गरिएको छ ।

विमानस्थलमा कर्मचारी र प्रहरीबीच कुटाकुट भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले बनाएको समितिले प्रतिवेदन बुझाउँदै त्यस्तो सिफारिस गरेको हो ।

त्यसैगरी प्रहरी जवानद्वय रविरञ्जन गुप्ता र राजकुमार महतोलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ । गत शुक्रबार विमानस्थलस्थित अध्यागमन कार्यालयमा कर्मचारी र प्रहरीबीच विवाद हुँदा कुटाकुट भएको थियो । सो घटनालाई लिएर माघ १२ गते मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति बनाएको थियो ।

गठित समितिले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनअनुसार कुटपिटमा संलग्न अन्य दुई प्रहरीलाई भने विभागीय कारबाहीको सिफारिस गरिएको छ ।

छानबिन समितिमा प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य थिए ।

उनीहरुले सो प्रतिवेदन बुधबार मन्त्रालयमा बुझाएका हुन् । कर्मचारी कुटपिटपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीहरू प्रहरीलाई कारबाही माग गर्दै कालोपट्टी बाँधेर काम गरिरहेका थिए ।

कर्मचारीहरुले प्रहरीलाई कारबाही नभए देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत दिएका थिए । तर गृहमन्त्री नारायणकाजी श्रेष्ठले समितिको प्रतिवेदन आएपछि कानूनअनुसार कारबाही गर्ने बताएका थिए ।

तपाइँको प्रतिक्रिया