शनिबार, असोज ५, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०२:५९ |सिड्नीको समय: ००:५९ |काठमाडौंको समय: २०:४४

गगन थापाको संवाद यात्रा झापाबाट शुरु, भाषण नगर्ने

एएनजेड खबरजनवरी २७, २०२४

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको संवाद यात्रा आजदेखि झापाबाट शुरु हुँदैछ । थापाले अहिले बिहान ८ बजे झापाको मेची भन्सारबाट यात्रा आरम्भ गर्दैछन् ।

समुदायमा कांग्रेस अभियान अन्तर्गन यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र पूर्व महामन्त्री एवं बिहीबार मात्रै राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी हुने नेपाली कांग्रेस झापाले जनाएको छ ।

महामन्त्री थापाले मेचीपुलमा माल्यार्पण गरेर संवाद यात्रा यात्रा शुभारम्भ गर्नेछन् ।पार्टीका कार्यकर्ताहरू र स्थानीयको गुनासो र सुझाव लिन महामन्त्री थापाले संवाद यात्रा गर्न लागेका हुन् । संवाद यात्रामा जनताका कुरा सुन्ने, आफ्ना कुरा नभन्ने (भाषणका कार्यक्रम नगर्ने) तयारी छ ।

संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ । संवाद यात्रा माघ २६ गते सकिने महामन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले बताए ।

कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी माघ १३ गतेदेखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दैछ । महामन्त्री थापाले पार्टीले गर्ने कार्यक्रमसँगै संवाद यात्रा थालनी गर्न लागेका हुन् ।

महामन्त्री थापा शनिबार विहान ९ः३० देखि १० बजेसम्म झापा चोकमा चिया संवाद गर्नेछन् । थापाको संवाद यात्रा नेपाली कांग्रेसका नेता कार्यकर्ता मात्र भेट्ने नभएर आम नागरिक सबैसँग संवाद गर्ने कार्यक्रम रहेको थापाको सचिवालयले जनाएको छ ।

थापाले बुधबार बिहान १० बजे कञ्चनश्रीमा हात्ती प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ । ११ देखि १२ बजे कृषक समूहसँग संवाद गर्ने, १२ः३०ेदेखि २ बजेसम्म झापा बजारमा खुला संवाद गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी, कुञ्जिबारीमा पैदलयात्रा गर्दै कन्काई नदी तर्ने, दिउँसो ३ बजे खजुरगाछीमा खुला संवाद गरी ४ बजे झापाको चौकीघाटबाट मोरङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनको संवाद यात्राको तालिका कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सार्वजनिक गरेका छन् ।

तपाइँको प्रतिक्रिया