मंगलबार, मंसिर ११, २०८१ |Tue Nov, 2024
अक्ल्याण्डको समय: १२:५० |सिड्नीको समय: १०:५० |काठमाडौंको समय: ०५:३५

सगरमाथालाई भारतको भनेर गलत प्रचार

एएनजेड खबरजनवरी २०, २०२४

काठमाडौं । भारतको एक टेलिभिजन सिरियलमा नेपालको सर्वोच्च शिखर सगरमाथालाई भारतको भनेर गलत प्रचार तथा प्रसार गरिएको छ ।

भारतको चर्चित टेलिभिजन जी टिभीले प्रसारण गर्दैआएको ‘कैसे मुझे तुम मिल गए’ नामक टेलिसिरियलमा नेपालको सर्वोच्च शिखर सगरमाथालाई भारतको भनेर प्रचार गरिएको हो । सो टिभी सिरियलको हालै प्रकाशित नयाँ एपिसोडमा नेपालको सगरमाथालाई भारतको भनेर प्रस्तुत गरिएको छ ।

सिरियलको सो एपिसोडमा टेलिसिरियलमा एक पुराना कलाकारले अर्को एक कलाकारलाई सामान्य ज्ञानको प्रश्नोत्तरका क्रममा ‘भारतको सबैभन्दा उच्च पहाडको चुचुरोको नाम के हो ?’ भनेर सोध्छिन् । त्यसपछि ती पुरुष कलाकारले ‘माउण्ट एभरेष्ट’ भनेर सहज तरिकाले उत्तर दिन्छन् । अनि सिरियलको सो दृश्यमा उपस्थित अन्य कलाकारले ताली बजाउँछन् ।

सो सिरियलको उक्त भागको युट्युब भर्सनमा हेर्न दर्शकमध्ये धेरैले सगरमाथा नेपालमा रहेको जिकिर गरिरहेका छन् । कतिपयले स्क्रिप्ट लेख्नेले गलत लेख्यो भनेर सच्याउन माग गरिरहेका छन् । कतिपयले नेपाल सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

तपाइँको प्रतिक्रिया