आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०८:१० |सिड्नीको समय: ०६:१० |काठमाडौंको समय: ०१:५५

एक बर्षमा अष्ट्रेलियामा आठ हजार बढीले लिए पीआर, अमेरिकामा कति ?

एएनजेड खबरजनवरी १९, २०२४

काठमाडौं । अघिल्लो वर्ष स्थायी बसोबासको अनुमतिपत्र (पीआर) लिएर नेपालबाट विदेश गएका झन्डै ७१ हजार मानिसहरू १०९ वटा देशमा पुगेका एउटा सरकारी आँकडाले देखाएको छ।

नेपालीहरू विकसित भनिएका अमेरिका, ब्रिटेन, स्विट्जरल्याण्डदेखि राजनीतिकरूपमा अस्थिर अफ्रिकाका इथिओपियासम्मका विभिन्न देश सन् २०२३ मा पुगेको अध्यागमन विभागको तथ्याङ्क छ।

अध्यागमन विभागका अनुसार सो हैसियतमा यात्रा गर्ने पुरुषहरूको सङ्ख्या महिलाभन्दा करिब २५ सयले बढी छ। स्थायी बसोबासको अनुमतिपत्र लिएर नेपालबाट बाहिरिने अधिकांश नेपालीहरू अमेरिका, युरोप र एशियाका आकर्षक भनिएका गन्तव्यहरूमा गएको अध्यागमन विभागको तथ्याङ्कले देखाउँछ।

स्थायी रूपमा नै मुलुक छाडिरहेका नेपालीहरूको वास्तविक आँकडा बाहिर ल्याउन सन् २०२३ मा पहिलो पटक सरकारले अलग्गै किसिमले अभिलेख राखेर उक्त तथ्याङ्क सार्वजनिक गरेको अधिकारीहरू बताउँछन्।

स्थायी बसोबासको अनुमतिपत्र लिएर विभिन्न १०९ देशका लागि सन् २०२३ मा ३६ हजार ६७२ पुरुष, ३४ हजार २६७ महिला र १ जना अन्य लैङ्गिक पहिचान भएका व्यक्ति बाहिरिएको देखिन्छ।

त्यसमध्ये झन्डै २१ हजार संयुक्त राज्य अमेरिका गएको तथ्याङ्कले देखाउँछ। त्यसपछि संयुक्त अधिराज्य र नर्दर्न आयरल्याण्डमा गरी १६ हजार २ सय भन्दा बढी अनि हङकङमा ११ हजार बढी नेपाली पीआर लिएर यात्रा गरेका छन्। उक्त सूचीको चौथो स्थानमा नेपाली विद्यार्थीहरूको बढ्दो चाप रहेको अस्ट्रेलिया छ जहाँ ८ हजारभन्दा बढी पीआरवाहक गएको देखिन्छ।

२६ सयभन्दा बढी नेपाली पीआर वाहक सन् २०२३ मा जापान गएको तथ्याङ्कले देखाउँछ। क्यानडा, पोर्चुगल, जर्मनी, न्यूजील्याण्ड र यूएई पीआर बोकेर नेपालीहरूले यात्रा गर्ने प्रमुख १० देशमा पर्ने सो आँकडाले देखाउँछ। उक्त आँकडा अनुसार झन्डै ३०० नेपालीहरू सन् २०२३ मा स्थायी अनुमतिपत्र वाहकको हैसियतमा भारत पुगेको सरकारी तथ्याङ्कले देखाउँछ।

नेपालीहरूसँग दक्षिण एशियाका भुटान, बाङ्ग्लादेश, पाकिस्तान र श्रीलङ्कासहित विभिन्न देशका पीआर रहेका पनि उक्त विवरणमा उल्लेख छ।(बीबीसीबाट)

तपाइँको प्रतिक्रिया