आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०८:२७ |सिड्नीको समय: ०६:२७ |काठमाडौंको समय: ०२:१२

चौधरी ग्रुपले तिर्यो १६ अर्ब १४ करोड रूपैयाँ कर

एएनजेड खबरजनवरी १४, २०२४

काठमाडौं । चौधरी ग्रुपले आर्थिक वर्ष २०७९–०८० मा सरकारलाई १६ अर्ब १४ करोड रूपैयाँ कर तिरेको छ । यो सरकारको कुल राजश्वमा १.८७ प्रतिशतको योगदान हो ।

आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको समयमा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको हो । अर्थतन्त्रमा आएको संकुचनका कारण सरकारले लक्ष्यअनुसार राजश्व संकलन गर्न नसकेको पृष्ठभूमिमा चौधरी ग्रुपको योगदान भने उच्च रहेको प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।

यद्यपि राष्ट्रिय अर्थतन्त्रमा आएको मन्दी र त्यसबाट व्यवसायिक कारोबारमा परेको असरका कारण अघिल्लो आर्थिक वर्ष २०७८–०७९ को तुलनामा चौधरी ग्रुपको राजश्व योगदानमा केही कमी आएको छ । उक्त आर्थिक बर्षमा ग्रुपले १७ अर्ब ७२ करोड रूपैयाँ कर तिरेको थियो ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी भन्छन्, ‘देशको समग्र अर्थतन्त्र मन्दीबाट गुज्रिरहदा र सरकारको कुल राजश्व संकुचित बनेको समयमा पनि चौधरी ग्रुपले उच्च कर तिर्न सक्षम भएको तथ्यले हामीलाई उत्साहित बनाएको छ । राष्ट्रिय अर्थतन्त्रको विस्तार र राष्ट्रका विकास निर्माणका परियोजनामा उल्लेख्य योगदान गर्न पाउँदा हामीलाई सन्तोष लागेको छ ।’

चौधरीले भने, ‘हामीले नेपालमा द्रूत गतिमा लगानी विस्तार गरिरहेका छौँ र त्यसबाट राष्ट्रिय अर्थतन्त्रमा अर्थपूर्ण योगदान पुग्नेछ भन्नेमा हाम्रो विश्वास छ ।’

नेपाली कांग्रेसका सांसदसमेत रहेका अध्यक्ष चौधरीले नेपालमा लगानीको वातावरणमा सुधार गरी लगानीकर्तालाई प्रोत्साहित गरेर मात्रै राजश्वको दायरा फराकिलो बनाउँदै लैजान सम्भव हुने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने र यस्तो सोचबाट राजश्वको अपेक्षित वृद्धिदर हासिल भइ हाम्रा राष्ट्रिय विकासका लक्ष्य प्राप्त गर्न सम्भव हुनेमा पनि जोड दिएका छन् ।

गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७० अर्ब रुपैयाँ कर तिरेको जनाएको छ । आर्थिक वर्ष २०७५–७६ मा ११ अर्ब ६७ करोड, २०७६–७७ मा ९ अर्ब ८७ करोड, २०७७–७८ मा १४ अर्ब २८ करोड, २०७८–७९ मा १७ अर्ब ७२ करोड र २०७९–८० मा १६ अर्ब १४ करोड कर सरकारी ढुकुटीमा दाखिला गरिएको छ ।

तपाइँको प्रतिक्रिया