आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १३:५२ |सिड्नीको समय: ११:५२ |काठमाडौंको समय: ०७:३७

नेपाली टोपी दिवस मनाइँदै, कोरियामा विशेष समारोह

एएनजेड खबरजनवरी १, २०२४

काठमाडौं । ‘नेपाली टोपीः नेपाली पहिचान’ भन्ने मूल नाराका साथ अंग्रेजी नयाँ बर्षको पहिलो दिन सोमबार ११ औं नेपाली टोपी दिवस मनाइँदैछ । विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीहरुले पनि टोपी दिवस मनाइरहेका छन् ।

नेपालमा जागरुक युवा अभियान नेपालले हरेक अंग्रेजी नयाँ वर्षको अवसर पारेर विगत ११ वर्षदेखि नेपाली टोपी दिवस मनाउँदै आइरहेको छ। विगत वर्षझैँ यस पटक पनि पौष १६ गते अर्थात् जनवरी १ तारिखका दिन बिहान ८ बजेदेखि बसन्तपुरमा भेला भएर कार्यक्रम गरिने आयोजकले जानकारी दिएको छ ।

सदियौंदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आइएको छ ।

विगतदेखि नै नेपालीलाई चिनाउँदै आएको ढाकाटोपी र भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गर्न संस्थाले सरकारसँग जोडदार माग गरेको छ । नेपाल बहुजातीय र बहुसांस्कृतिक मुलुक भएकाले यहाँ थुप्रै जातीय टोपीहरु पनि छन् । त्यसैले ती टोपीहरुको संरक्षण र प्रवर्द्धनमा ध्यान दिन पनि सरकारसँग जगारुक युवा अभियान नेपालले माग गरेको छ ।

यस बर्ष पनि जनवरी १ (पुस १६) का दिन सम्भव भएसम्म दौरा सुरुवाल टोपी र गुन्यूचोली लगाउन र त्यो सम्भव नभए नेपाली टोपी अवश्य लगाउन संस्थाले सबैमा अनुरोध गरेको छ । नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गराउनको लागि सामाजिक संजालमार्फत पनि सरकारलाई दबाब दिन संस्थाले आग्रह गरेको छ ।

बसन्तपुरमा हुने औपचारिक कार्यक्रममा सहभागी हुन नसकेपनि नेपाली टोपीमा सजिएको आफ्नो फोटो सामाजिक सञ्जालहरुमा राखेर विश्वभर प्रवर्द्धन गर्नका लागि सम्पूर्णमा संस्थाले अनुरोध गरेको छ ।

जागरुक युवा अभियान नेपालका अभियन्ताहरुमा घनश्याम श्रेष्ठ, रामजी बलामी, जनार्जन पौडेल, शिव धिताल, अज्मत अलि, ज्ञानमणि नेपाल कालोटोपी, जनक कार्की, लक्ष्मण लम्साल, वसन्त हुमागाईं, शोभराज बराल, निरोज थापा र राजेश खत्री रहेका छन् ।

दक्षिण कोरियामा रहेका नेपालीहरुले नयाँ बर्ष र टोपी दिवसलाई विशेष रुपले मनाइरहेका छन् । ‘मातृभुमिको नाममा तीन घन्टा पद यात्रा गरौं’, ‘हाम्रो शान, हाम्रो पहिचानः नेपाली टोपी अभियान” भन्ने नाराका साथ सउल स्टेसनदेखि नामसान टावरसम्म र्यालीको आयोजना गर्न लागिएको कोरियाका लागि नेपाली पर्यटनदूत केपी सिटौलाले जानकारी दिए । नेपाल–कोरियाबीचको कूटनीतिक सम्बन्ध विस्तार भएको साथै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको सिटौलाले बताए ।

तपाइँको प्रतिक्रिया