आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १५:३२ |सिड्नीको समय: १३:३२ |काठमाडौंको समय: ०९:१७

कैलालीमा ट्रान्स जेन्डर जोडीबीच पहिलो विवाह दर्ता, अभियन्ताहरुले दिए बधाई

एएनजेड खबरडिसेम्बर २४, २०२३

काठमाडौं । कैलालीमा पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसंख्यक जोडीको विवाह दर्ता भएको छ । जिल्लाको कैलारी गाउँपालिका–८ का प्रकाश चौधरी र दाङ तुलसीपुर उपमहानगरपालिका– १ का मलिना न्यौपानेको विवाह भएको चार वर्षपछि गाउँपालिकामा उनीहरूको विवाह दर्ता भएको हो ।

समलिङ्गी विवाह गर्न पाउने कानुन हुँदा पनि अहिलेसम्म कैलालीमा समलिङ्गी विवाह दर्ता भएको थिएन । पहिलो पटक आफूहरूको विवाह दर्ता भएको बताउँदै मलिनाले शनिवार धनगढीमा खुसी साटिन् । ‘हाम्रो विवाह भएको चार वर्ष भइसकेको थियो । थुप्रै विभेद र समस्या झेल्दै हामी आज यो दिनमा आइपुगेका छौँ’ उनले भनिन् ‘गाउँपालिकामा हाम्रो विवाह दर्ता भएको छ हामी निकै खुसी छौँ ।’

उनले लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूलाई समाजमा खुल्न समेत गारो भइरहेको बेला समलिङ्गी विवाह दर्ता गर्ने कुरा ठुलो उपलब्धि रहेको बताइन । दुलाहा बनेका व्यक्तिको नागरिकतामा महिला र दुलही बनेका व्यक्तिको नागरिकतामा अन्य उल्लेख रहेको स्थानीय पञ्जीधिकारी तुलसी राम चौधरीले जानकारी दिए।

उनीहरूले समलिङ्गी विवाहपछि अब धर्म सन्ताका विषयमा पनि सहज गरिनुपर्ने बताए । विवाह दर्ता पनि अब कानुनी रूपमै आफूहरू पति पत्नी भएको भन्दै उनीहरूले अरू लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूलाई खुलेर आउनु पर्ने बताए ।

विवाह दर्ता लगत्तै निल हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले नवविवाहित जोडीले विवाह दर्ताबारे जानकारी दिइन । गुरुङले समलिङ्गी विवाहमा अवरोध आउँदा लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू निकै समस्यामा रहेको बताइन । नवविवाहित जोडीलाई अध्यक्ष गुरुङले बधाई समेत दिइन । समलिङ्गी विवाहका रूपमा प्रकाश र मलिनाको विवाहलाई नेपालमा दोस्रो भनिए पनि ट्रान्स जेन्डरको जोडीका रूपमा उनीहरूको पहिलो विवाह दर्ता भएको अध्यक्ष गुरुङको दाबी छ । नव विवाहित जोडीलाई यौनिक तथा लैङ्गिक समुदायका अग्रज अभियन्ता सुनिलबाबु पन्तले बधाई दिएका छन् ।

सर्वोच्च अदालतले समलिंगी विवाह दर्ता गरी अस्थायी अभिलेख राख्न अन्तरिम आदेश जारी गरेपछि नेपालमा समलिंगी विवाह दर्ता हुन थालेको हो । यसअघि लमजुङमा भएको विवाह दर्तालाई ‘सर्वोच्चको आदेश बमोजिक अस्थायी अभिलेख’ भनि विवाह दर्ता गरिएको भएपनि कैलालीको यो विवाह दर्तालाई भने प्रशासनले स्थायी विवाह दर्ताकै मान्यता दिएको छ ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडी माया गुरुङ्ग र सुरेन्द्र पाण्डेले १३ मङ्सिरमा लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा विवाह दर्ता गरेका हुन् । सर्वोच्च अदालतले गत असारमा समलैंगिक विवाह दर्ता गराउनका लागि सरकारका नाममा अन्तरिम आदेश जारी भएको थियो । सर्वोच्चले नै अस्थायी अभिलेख रहने गरी विवाह दर्ताको व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

तपाइँको प्रतिक्रिया