आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १५:२९ |सिड्नीको समय: १३:२९ |काठमाडौंको समय: ०९:१४

स्वीट्जरल्याण्ड र इण्डोनेसियासँग हवाइ सम्झौताको तयारी गर्दै नेपाल

एएनजेड खबरडिसेम्बर २२, २०२३

काठमाडौं । नेपालले विश्वका विभिन्न देशहरुसँग हवाइ सेवा विस्तारलाई तिब्रता दिएको छ । यसै सिलसिलामा युरोपेली मुलुक स्वीट्जरल्याण्डसँग द्विपक्षीय हवाई सेवा सम्झौताको तयारी भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वीट्जरल्याण्डसहित विभिन्न मुलुकसँग हवाई सम्झौताको प्रक्रिया अघि बढाएको हो ।

मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछानेका अनुसार स्वीट्जरल्याण्डसँग आगामी फेब्रुअरीको पहिलो हप्ता काठमाडौँमा द्विपक्षीय हवाई सेवा सम्झौता हुने सहमतिअनुरूप आवश्यक तयारी गरिएको छ । मध्यपूर्वी एशियाली मुलुक इण्डोनेसियासँग पनि सम्झौताका लागि समन्वय भइरहेको उनले जानकारी दिए ।

महाशाखाका प्रमुख लामिछानेले भने, “इन्डोनेसियासँग द्विपक्षीय हवाई सम्झौताका लागि समन्वय भइरहेको छ, समय तय गर्न बाँकी छ ।”

ती दुवै मुलुकसँगको हवाई सम्झौताका लागि हालैको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भइसकेको छ । सरकारले छिट्टै रुससँग पनि नयाँ हवाई सेवा सम्झौता गर्दैछ । उक्त प्रयोजनका लागि पनि समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

यसअघि गत मङ्सिर १९ गते नेपाल सरकार र रुवाण्डा सरकारबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो । यससँगै नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको सङ्ख्या ४१ पुगेको छ ।

तपाइँको प्रतिक्रिया