आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १५:२६ |सिड्नीको समय: १३:२६ |काठमाडौंको समय: ०९:११

४७ लाख बढी विद्यार्थीले लिए नो अब्जेक्शन लेटर, लेटर लिन सास्ती

एएनजेड खबरडिसेम्बर २१, २०२३

काठमाडौं । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई आवश्यक पर्ने नो अब्जेक्सन लेटर अर्थात् एनओसी लिने शाखामा सर्भर डाउन भएर सेवा अवरुद्ध हुँदा केही दिन अघि चार दिन विद्यार्थीले सास्ती खेपे । हिजोआज थेगिनसक्नु भीड बढेपछि विद्यार्थीले अन्य सास्ती खेपिरहेका छन् ।

शिक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा सानोठिमीमा केही दिनअघि विद्यार्थीले नाराबाजी गर्दै धर्ना दिएका थिए । लेटर लिनका लागि धेरै दिनदेखि धाउनुपरेको भन्दै विद्यार्थीले नाराबाजी गरेका थिए ।

सर्भर डाउनको असर हिजोआज देखिएको छ । विद्यार्थीहरु कर्मचारीको व्यवहार र ढिलासुस्तीबाट दिक्क हुने गरेका छन् । लेटर लिन इलामबाट आएका समिर राईका अनुसार दिनहुँ लाइन बस्नुपर्ने र कर्मचारीहरुले कुनै न कुनै खोट देखाउँदै फर्काउने गरिरहेका छन् । कार्यालयले बिहान १० बजेदेखि साँझ ४ बजेसम्म समय निर्धारण गरिए पनि विद्यार्थीहरु बिहानैदेखि लाइन लाग्ने गरेका छन् ।

नो अब्जेक्सन लेटर दिने कार्यालय भने विद्यार्थीको चापले भीडभाड हुने गरे पनि सहज रुपमा कागजात उपलब्ध गराउने गरेको वैदेशिक अध्ययन अनुमतिपत्र शाखा आईटी निर्देशक सुवास ढकाल बताउँछन् ।

भिसाको तयारीमा रहेका र भिसा लागेर उडानको समय नजिकिएका विद्यार्थी नो अब्जेक्सन लेटर पाउन नसक्दा मारमा छन् । डाटा भरिएर सर्बर डाउन भएको भन्दै केही दिनअघि चार दिनसम्म सेवा अवरुद्ध भएको थियो । आर्थिक वर्ष २०७९/०८० मा मात्रैै ४७ लाख विद्यार्थीले नो अब्जेक्शन लेटर लिइसकेका छन् ।

तपाइँको प्रतिक्रिया