आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १७:४४ |सिड्नीको समय: १५:४४ |काठमाडौंको समय: ११:२९

एनआरएनए केसी समूहमा विवाद, एक पक्षीय रुपमा अघि बढेको आरोप

एएनजेड खबरडिसेम्बर २०, २०२३

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को डा.बद्री केसी समूहले गरेको अन्तर्राष्ट्रिय समन्वय परिषद(आईसीसी) सदस्यका साथै सल्लाहकार पदमा गरेको मनोनयन विवादमा परेको छ ।

गत ११ औँ महाधिवेशनमा मतदानमा धाँधली गरी परिणाम आफ्नो पक्षमा पारेको आरोप लागेका केसीले सदस्य र सल्लाहकार मनोनित गरेपछि उनकै कार्य समितिभित्र असन्तुष्टि चुलिएको हो । आइतबार भर्चुअल माध्यमबाट बसेको पदाधिकारी बैठकमा केही पदाधिकारीहरुको असन्तुष्टिका बीच केसी र महासचिव गौरीराज जोशीले आफुखुशी मनोनयन गरेपछि विवाद बढेको हो ।

उपमहासचिव प्रविण गुरुङले आफुखुशी गरिएको मनोनयनप्रति आपत्ति प्रकट गर्दै उक्त निर्णय तत्काल सच्याउन माग गरेका छन् । त्यस्तै अर्का उपमहासचिब सोम सापकोटाले पनि तत्काल निर्णय सच्याउन माग गरेका छन् । उनीहरुले एनआरएनए एकताका लागि काम गर्न अनुरोध गरेका छन् । गुरुङ र सापकोटाले निर्णय एकपक्षीय, मनोमानी र एकै किसिमको राजनीतिक आस्था भएका व्यक्तिहरुलाई प्रश्रय दिएको बताएका छन् ।

मनोनित हुनेहरुमा एमालेको भातृसंगठन ओएनएफका कार्यकर्ता, कतिपयका आफन्त, निकटस्थ, गर्लफ्रेन्ड र भाइभजितालाई आईसीसी सदस्य र सल्लाहकारमा मनोनित गरिएको आरोप छ । बैठकमा महासचिव जोशीले प्रस्ताव ल्याउनेबित्तिकै केही पदाधिकारीले यसबारे पर्याप्त छलफल हुनुपर्ने भन्दै ‘नोट अफ डिसेन्ट’ लेखेपनि जवरजस्ती मनोनित हुनेहरुको नाम सार्वजनिक गरिएको असन्तुष्टहरुको भनाइ छ ।

यता, आरके शर्मा र बुद्धि सुवेदी समूहले समान्तर गतिविधि गरिरहेको छ । निर्वाचनका क्रममा केसी समुहले धाँधली गरेको भन्दै उक्त समुहले परराष्ट्र मन्त्रालयमा उजुरी समेत दिएको छ । केसी समुहले निर्वाचनमा धाँधली भएको सिआइवीले रिपोर्ट दिईसक्दा समेत उनीहरुले भेरोको साथ लिएर सोही निर्वाचनलाई मान्यता दिनतर्फ लागेपछि शर्मा र महेश श्रेष्ठ समुह विरुद्धमा उत्रिएको छ ।

तपाइँको प्रतिक्रिया