आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २१:३३ |सिड्नीको समय: १९:३३ |काठमाडौंको समय: १५:१८

शान्ति सेनामा १० हजारसम्म सेना तैनाथ गर्न नेपाल प्रतिवद्ध

एएनजेड खबरडिसेम्बर ७, २०२३

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल संयुक्त राष्ट्रसङ्घको अनुरोधमा १० हजारसम्म सेना तैनाथ गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

घानाको आक्रामा भएको अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रिस्तरीय सम्मेलनमा उपप्रधानमन्त्री खड्काले नेपालले धेरैजसो प्रतिबद्धता पूरा गरिसकेको र बाँकी पूरा गर्ने क्रममा रहेकोसमेत बताए ।

उपप्रधानमन्त्री खड्काले घाना सरकारलाई शिखर सम्मेलन आयोजना गरेकामा समेत धन्यवाद दिए । उनले संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा पहलमा सुरु गरिएका एक्सन फर पिस र एक्सन फर पिस प्लस कार्यक्रमलाई नेपालले सदैव समर्थन गर्दै आएकोसमेत बताए । यसले शान्ति सैनिकको सुरक्षा र सुरक्षाको आवश्यकता र नागरिक सुरक्षाप्रतिको प्रतिबद्धता सुनिश्चित गर्ने उनको भनाइ छ ।

नेपाल शान्ति स्थापनाको प्रभावकारिता सुनिश्चित गर्न टी, पिसिसीलगायत सम्बन्धित प्रमुख सरोकारवालाबीच सुधारिएको समन्वय संयन्त्र धेरै महत्वपूर्ण छ भन्नेमा नेपाल विश्वास गर्ने उनले बताए । उनले शान्ति स्थापना साझेदारीपूर्ण कार्य भएको र घोषित लक्ष्य पूरा गर्न सबै एकजुट हुनुपर्ने धारणा राखे ।

उपप्रधानमन्त्री खड्काले नेपाल यसवर्ष विशेष सुरक्षा बल र तत्काल प्रतिकार्य बललाई कायम राख्दै एउटा मेकानाइज्ड इन्फन्ट्री बटालियन र दुई वटा इफपियु र आरडीएलमा स्तरोन्नति गर्न प्रतिबद्धतासमेत जनाए ।

नेपाल सन् १९५८ देखि संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यमा निरन्तर योगदान दिँदै आइरहेको छ । नेपालले शान्ति स्थापनाका लागि विश्वभरका १६ विभिन्न मिसनमा छ सय १६ महिलासहित छ हजार दुई सय ७८ शान्ति सैनिक तैनाथी गरी दोस्रो ठूलो शान्ति सेना र प्रहरी खटाउने देशका रुपमा रहेको छ ।

शान्ति स्थापनाका क्रममा हालसम्म ८६ शान्ति सैनिकले शान्ति स्थापनाका लागि आफ्नो प्राण त्याग गरेका छन् भने ६६ जना घाइते भएका छन् । मङ्गलबार भएको सम्मेलनको उद्घाटनमा घानाका उपराष्ट्रपति महमुदु बहुमियाले विश्वशान्ति, स्थिरता र सुरक्षाका लागि सबै देशबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।

तपाइँको प्रतिक्रिया