आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०५:३९ |सिड्नीको समय: ०३:३९ |काठमाडौंको समय: २३:२४

रवि लामिछानेले ब्लु बस चलाएर भोटको सस्तो राजनीति गरे :शंकर पोखरेल

एएनजेड खबरअगस्ट ३, २०२३

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ब्लु बस चलाएर सस्तो राजनीति गर्न खोजेको आरोप लगाएका छन्।

लामिछानेले चितवन-२ मा महिलाका लागि नि:शुल्क ब्लु बस सेवा संचालन गरेपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै पोखरेलले यो कुराले गम्भीर प्रश्न उब्जिएको बताएका छन्।

नेता शंकर पोखरेल

‘दुनियाँका धेरै मुलुकहरूमा महिलाहरू बन्द समाजमा जकडिएको बेलामा नेपाली समाजमा अपवादबाहेक महिलाहरू सुरूदेखि नै तुलनात्मक हिसाबले स्वतन्त्र थिए। उत्पादनको काममा परिवारका सदस्यहरूसँग मिलेर एकसाथ काम गर्दथे। जबकी अहिले युवाहरूको ठूलो संख्या रोजगारीका शिलशिलामा विदेशिएका बेला ठूलो संख्यामा महिलाहरू परिवारको मुलीको रूपमा भूमिका निर्वाह गरिरहेका छन्,’ उनले लेखेका छन्,‘यस्तो अवस्थामा आफूलाई नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागिमात्र भनेर सार्वजनिक यातायात सञ्चालन गर्न खोजेको होलान्? जिज्ञासा उठ्नु स्वाभाविक हो।’

नयाँ र वैकल्पिक शक्ति बनाउँछौं भन्नेहरूले गर्न खोजेको काममा रूपान्तरणकारी सोच र योजना देखिनु पर्ने भन्दै पोखरेलले उक्त कुरा हुन नसकेको बताएका छन्।

‘तर स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो। यस्तो कुरामा गम्भीर बनौं,’ उनले लेखेका छन्,‘चितवनजस्तो सचेत ठाउँवाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने र सन्देश दिने प्रयास गरौं।’

तपाइँको प्रतिक्रिया