शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १०:०५ |सिड्नीको समय: ०८:०५ |काठमाडौंको समय: ०३:५०

भोलि हुने एनआरएनए अष्ट्रेलियाको निर्वाचनको तयारी पुरा !

एएनजेड खबरजुलाइ २८, २०२३

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचनको तयारी पुरा भएको छ। भोलि शनिवार हुने निर्वाचनलाई लिएर निर्वाचन समितिले आज पत्रकार सम्मेलन गर्दै तयारी पुरा भएको जानकारी दिएको हो। 

निर्वाचन समितिका प्रमुख टोनु घोतानेले निर्वाचनका लागी सबै तयारी  पूर्ण रूपमा  भएको बताए। उनले निर्वाचन अनलाइन माध्यमबाट हुने र एनआरएनए अष्ट्रेलियाका सबै मतदातालाई ढुक्क भएर आफ्नो मतदानको अधिकार प्रयोग गर्न आग्रह गरेका छन्। पत्रकार सम्मेलनमा बोल्दै प्रमुख घोतानेले  अष्ट्रेलियाको एनआरएनए निर्वाचन पहिलो पटक फेस भेरिफिकेसन प्रविधिमार्फत निर्वाचन गर्न लागेको बताए। उनका अनुसार मतदानका बेला केही समस्या आएमा राज्य स्तरको निर्वाचन समिति र हेल्प डेस्कमा भिडियो कल मार्फत सहयोग लिन सकिने  जानकारी दिए। 

 घोतानेले भने, भोटिङ योग्य सदस्यले एसएमएस र इमेल दुवैमा एक लिङ्क प्राप्त गर्नेछन्। प्राप्त लिङ्कलाई फरवार्ड नगर्नुहोस् किनकि यसले प्राप्त गरेको बाहेक अन्य सदस्यहरूको लागि काम गर्दैन। मतदाताले एक पटक मात्रै मतदान गर्न पाउनेछन्। प्राप्त गरेको लिङ्क दुई पटक मात्र खोल्न सकिने छ’। उक्त पत्रकार सम्मेलनमा उनले मतदान गर्ने तरिकाको बारेमा पनि बताएका छन्।

 एनआरएनए अष्ट्रेलियाको अध्यक्षको लागि तीन उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। जसमा सामाजिक अभियन्ता एवं व्यवसायी डिला खरेल, अनिल पोखरेल र देव गुरुङबिच कडा प्रतिस्पर्धा हुनेछ। उनीहरू तीनै जनाले केन्द्रदेखि राज्य स्तरसम्म अलगअलग समूह बनाएर नै चुनावी मैदानमा होमिएका हुन्। 

एनआरएनए अष्ट्रेलियाका १४ हजार बढी मतदाताले भोली मतदान गर्न पाउने छन्।  अनलाइन भोटिङ भएकै कारण चुनाव सकिएको २ घण्टाभित्र निर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक गर्ने निर्वाचन समितिका प्रमुख घोतानेले बताइसकेका छन्।

अष्ट्रेलियाका सबै राज्यमा स्थानीय समय अनुसार बिहान नौ बजे देखी साँझ पाँच बजेसम्म हुनेछ।

तपाइँको प्रतिक्रिया