शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:५७ |सिड्नीको समय: ०७:५७ |काठमाडौंको समय: ०३:४२

एनआरएनए अष्ट्रेलिया निर्वाचन – ७ सय ५६ जनाको सदस्यता खारेज !!

एएनजेड खबरजुलाइ २३, २०२३

 गैरआवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन समितिले ७ सय ५६ जनाको सदस्यता खारेज गरेको छ।

अनलाइन मार्फत आगामी जुलाई २९ तारिखमा हुने निर्वाचनमा भाग लिनका लागी सदस्यता आवेदन बुझाई स्वीकृत भइसकेका फर्जी सदस्यहरूको नाम हटाएको हो । 

पत्रकार सम्मेलन गर्दै निर्वाचन समितिका संयोजक टोनु घोतानेले एउटै बैङ्क कार्डबाट ४ वटा भन्दा बढी सदस्यको रकम शुल्क भुक्तानी गरिएका कारण सदस्यता खारेज गरेको जानकारी दिए। उनका अनुसार सदस्यता खारेजीमा परेका व्यक्तिहरूले आगामी चुनावमा भोट हाल्न पाउने छैनन्। 

एनआरएनए अष्ट्रेलियाले २०२१ अप्रिल २२ तारिखमा ४ जना भन्दा बढी व्यक्तिको सदस्यता शुल्क एउटै बैङ्क कार्डबाट तिर्न नहुने नियम बनाएको थियो। त्यस्तै  एउटै कार्डबाट तोकिएको सङ्ख्या भन्दा बढी व्यक्तिको शुल्क तिरिए उनीहरूको सदस्यता कायम नरहने निर्णय भए अनुसार यो यो पटकको निर्वाचनमा निर्वाचन समितिले बैङ्क कार्डमाथि कडाइ गरेको हो। 

निर्वाचन समितिले निर्वाचन आचारसंहिता बनाएर  नै ३ भन्दा बढी व्यक्तिको सदस्यता एउटै कार्डबाट भए मान्य नहुने बताउँदै आएको थियो। 

एनआरएनए अष्ट्रेलियाको विधानको धारा ९ को उपधारा ७ बमोजिम त्यस्ता फर्जी सदस्यहरूको सदस्यता खारेज भएको हो। उक्त खारेजीमा  परेका फर्जी सदस्यहरूले विधान बमोजिम सदस्यताको लागी बुझाएको शुल्क समेत जफत हुनेछ। 

फर्जी सदस्यता खारेजसँगै  एनआरएनए अष्ट्रेलियाको प्रारम्भिक सदस्य सङ्ख्या  १५ हजार २ सय १२ बाट घटेर १४ हजार ४ सय ५६ पुगेको छ  । 

एनआरएनए अष्ट्रेलियालाई विधान बमोजिम सञ्चालन गर्नका लागि अध्यक्ष र महासचिवले  विधानको धारा ९ को उपधारा ७ बमोजिम अधिकार प्रयोग गरी फर्जी सदस्यता खारेज गर्ने निर्णय गरेका हुन्। अध्यक्ष र महासचिवको यो निर्णयलाई एनआरएनए अष्ट्रेलियाको साधारण सभाको बहुमतबाट मात्रै उल्ट्याउन सकिने  विधानमा व्यवस्था गरिएको छ ।

तपाइँको प्रतिक्रिया