सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०७:२५ |सिड्नीको समय: ०५:२५ |काठमाडौंको समय: ०१:१०

बालकोट, बालुवाटार वा कुनै पार्टीको किन नहोस्  “अपराधी छ भने कसैलाई छाड्दिन” : गृहमन्त्री श्रेष्ठ 

एएनजेड खबरजुलाइ २१, २०२३

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणमा  पुगेका छन्।

नेपाल प्रहरीका आइजिपी वसन्त कुँवर र महानगरीय प्रहरी कार्यालय प्रमुख एआईजी श्यामलाल ज्ञवालीसहित गृहमन्त्री श्रेष्ठ विमानस्थल गएका हुन्। 

मन्त्री श्रेष्ठले विमानस्थल भन्सार र अन्तर्राष्ट्रिय आगमन क्षेत्रमा पुगेर अनुगमन गरेका थिए। 

ठुलो टोलीसहित पुगेका गृहमन्त्री श्रेष्ठ भन्सार विभागका उपसचिव नारद गौतमले ब्रिफिङ गरेका छन्। उनले सामान जाँच पास हुने क्षेत्र र जाँच पासको विधिसहित विषयमा ब्रिफिङ गरेका हुन्। 

करिब एक अर्ब रुपैयाँको सुन बरामद भएपछि  गृहमन्त्री  श्रेष्ठले बिहीबार भन्सार विभागका महानिर्देशक शोभकान्त पौडेलसँग सोधपुछ गरेका थिए। पत्रकारसँग संक्षिप्त कुरा गर्दै मन्त्री श्रेष्ठले बालुवाटार होस्  या बालकोट होस् अथवा कुनै पार्टीको किन नहोस् अपराधमा मुछिएको छ भने कसैलाई नछाड्ने चेतावनी समेत दिए। 

अर्थ र गृहमन्त्रालय मातहतको विमानस्थलबाट एक क्विन्टल अवैध सुन भित्रिएको विषयमा श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको आलोचना भइरहेको छ।

करिब सय केजी सुन राजश्व अनुसन्धान विभागले बरामद गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महत्त्वपूर्ण कार्यालयका प्रमुखहरू भने बिदामा रहेको भेटिएको थियो। 

विमानस्थल भन्सार कार्यालयका प्रमुख सहसचिव अरुण पोखरेल असार १७ गतेदेखि नै बिदामा रहेको भेटिएको थियो।यस्तै, विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख अर्जुन चन्द ठकुरी पनि मङ्गलवारदेखि नै बिदामा रहेको पाइएको हो। 

तपाइँको प्रतिक्रिया