सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०९:३५ |सिड्नीको समय: ०७:३५ |काठमाडौंको समय: ०३:२०

चौतर्फी गालीको वर्षा भएपछि माफी मागिन् तोसिमा कार्कीले !

एएनजेड खबरजुलाइ १३, २०२३

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्कीले माफी मागेकी छन्। उनले प्रधानमन्त्री प्रचण्डलाई लक्षित गरेर  दुःखको घडीमा असंवेदनशील अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा गालीको वर्षा भएपछि माफी मागेकी हुन्। 

हिजो प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधनमा श्रद्धाञ्जली दिन कोटेश्वरस्थित माओवादी केन्द्रको मुख्यालय पुगेकी तोसिमाले   असंवेदनशील भएर अभिव्यक्ति दिएकी थिइन् । उनको दिएको सार्वजनिक अभिव्यक्तिमा उनले ‘आफ्नै श्रीमतीलाई त समय दिन सक्नु भएन अथवा हेरचाह गर्न सक्नु भएन भने राष्ट्रका लागि के गर्नु होला त ?’ भन्ने खालका अभिव्यक्तिहरू दिएकी थिइन् । 

प्रतिनिधिसभाको सदस्य समेत रहेकी तोसिमाले दिएको विवादित प्रमुख अभिव्यक्ति यस्तो थियो ,‘हरेक व्यक्तिको आफ्नो व्यक्तिगत जीवन हुन्छ । परिवारलाई संरक्षण र जोगाउनुपर्ने दायित्व हुन्छ । त्यसमाथि पनि प्रधानमन्त्रीज्यूले आफ्नै श्रीमतीलाई त समय दिन सक्नु भएन अथवा हेरचाह गर्न सक्नुभएन भने राष्ट्रका लागि के गर्नु होला त ? भन्ने प्रश्नहरू पनि आउन सक्छन् ।…… अहिले विक्षिप्त भएको अवस्थामा धेरै टीकाटिप्पणी नगरौँ ।’, 

तोसिमाको भनाइलाई लिएर चौतर्फी विरोध र भर्त्सना भएपछि गए राती उनले माफी मागेकी छन्। उनले सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफ्नो अभिव्यक्तिले कहीँ कसैको मनोभावनामा चोट पुग्न गएकोमा  क्षमा याचना गरेकी हुन्। 

उनले लेखेकी छन् ,’ सम्माननीय प्रधानमन्त्रीज्यू की धर्मपत्नी तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार आदर्णिय आमा सीता दाहालको असामयिक निधनले समग्र देशवासीलाई मर्माहित तुल्याएको छ, जीवनभर संघर्ष, त्याग, योगदान गरी आफ्नो श्रीमान् तथा समग्र पार्टीकै खम्बा बनेर निरन्तर यो व्यवस्थाको लागी दिनुभएको योगदान लाई इतिहासले सम्झनुपर्छ्र उहाँले आफ्नो जीवनभर विना स्वार्थ विना कुनै पद र सम्मानको लोभ, गर्नुभएको योगदान प्रति नतमस्तक छौँ, सम्मानित उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्रीज्यू र समग्र परिवारलाई विचलित नभई यो दुःखद घडीको सामना गर्न शक्ति मिलोस् भनी कामना गर्न चाहन्छु ।

(म स्वयम्ले पेरिस डाँडामा राखिएको उहाँको सम्मानित पार्थिव शरीरमा फूल र श्रद्धा अर्पण गरेपछि केही मिडियाकर्मी साथीहरूले लिनुभएको बाईटलाई तोडमोड गरी राखिएकोमा, पुरा भिडियो सुन्नुहुन आग्रह गर्न चाहन्छु र साथै तोडमोड गरी राखिएको अभिव्यक्तिले कहीँ कसैको मनोभावनामा चोट पुग्न गएकोमा समेत क्षमा माग्दछु)। ‘

तपाइँको प्रतिक्रिया