सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०९:२६ |सिड्नीको समय: ०७:२६ |काठमाडौंको समय: ०३:११

प्रमुख तीन दलले आफुलाई बेवास्ता गरेको भन्दै रिसाए रवि लामिछाने 

एएनजेड खबरजुलाइ १०, २०२३

संसदमा रहेका प्रमुख तीन दलले आफ्नो पार्टीलाई बेवास्ता गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले असन्तुष्टि जनाएका छन्। उनले  तीन नेताको मुडमा संसद् चल्न नसक्ने समेत बताए। 

हिजो संसद् भवन परिसरमा पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले तीन नेताको कुरा मिल्दा संसद् चल्ने  नत्र नचल्ने गलत अभ्यास भइरहेको आरोप लगाए। 

विपक्षी दलहरूले सङ्घीय संसद्को दुवै सदन अवरुद्ध गरिरहेको बेला तीन दलका शीर्ष नेताहरू सिंहदरबारमा छलफलमा जुटेका थिए। उक्त छलफलमा रास्वपालाई नबोलाइएको भन्दै लामिछानेले चर्को असन्तुष्टि व्यक्त गरेका हुन्। 

‘सदन केही नेताको मुडमा चल्ने चिज होइन, सदन जनताप्रति उत्तरदायी हुनुपर्ने हो’, उनले भने, ‘जनताले हामीबाट धेरै अपेक्षा गरेका छन् ।’

तीन दलले संसदमा सिन्डिकेट लागु गर्न लागिरहेको भन्दै उनले आक्रोश व्यक्त गरे । आफूले यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीसँग पनि कुरा गरेको बताए ।

उनले रास्वपा कुनै अमुक पार्टीको पछाडि लागेको आरोप लागिरहेको भन्दै आफ्नो पार्टी  कुनै पनि दलको पछि नलागेको बताए ।

संसदमा एजेन्डा विहीन जस्तो बनेको रास्वपा केही समयदेखि एमालेसँग स्वरमा सवार मिलाएर सरकारको विरुद्ध लागेको आरोप लाग्दै आएको छ। तर सभापति लामिछानेले  रास्वपा देशको चौथो राजनीतिक शक्ति भएकोले आफ्नै मुद्दा र एजेन्डामा उभिएको दाबी गरे। 

तपाइँको प्रतिक्रिया