शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:४८ |सिड्नीको समय: ०७:४८ |काठमाडौंको समय: ०३:३३

एनआरएनए निर्वाचन समितिले फर्जी र बल्क सदस्यता छानबिन गर्ने !! एउटै कार्डवाट तीन भन्दा बढी सदस्य भए खारेज हुने !!

एएनजेड खबरजुलाइ ७, २०२३

 गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचन समितिले आगामी जुलाई २९ मा हुने मतदानका लागि योग्य रहन सदस्य बनेका र पेन्डिंगमा रहेका आवेदक सदस्यहरूको फर्जी र बल्क पेमेन्ट गरेकाहरूको आवेदन उपर बृहत् छानबिन गरेर मात्र स्वीकृत गर्ने बताएको छ । साथै एउटै बैंक कार्डवाट तीन भन्दा बढी सदस्य बनेको भए पहिलो तीन सदस्य बाहेक अन्यको सदस्यता खारेज गर्ने तयारी निर्वाचन समितिको रहेको छ ।  

समितिले बिहीबार मेलबर्नमा  पत्रकार सम्मेलन गर्दै एउटै व्यक्तिको बैङ्क कार्डबाट धेरै सदस्य बनेकाहरूको सदस्यता आवेदन उपर छलफल गर्ने निर्णय गरेको निर्वाचन समितिका संयोजक एवं अधिवक्ता टोनु घोतानेले जानकारी दिएका छन् । एनआरएनए जस्तो विशुद्ध सामाजिक संस्थामा अर्काको पैसा तिरेर सदस्य बनाइदिने गलत प्रवृति हाबी भइरहेको भनेर सर्वत्र आलोचना भइरहेको सन्दर्भमा निर्वाचन समितिले विधिसम्मत ढङ्गले सदस्य नबनेकाहरूको आवेदन उपर छानबिन गरी निर्णय लिने घोषणाको प्रति सामाजिक अभियन्ताहरूले प्रशंसनीय कार्य भएको बताएका छन् ।

 त्यसो त एनआरएन अष्ट्रेलियाका अध्यक्ष रहिसकेका प्रमुख निर्वाचन आयुक्त घोताने अष्ट्रेलियाको नेपाली समाजबिच निडर, अनुभवी र विधिसम्मत कार्य गर्ने अधिवक्ताका रूपमा चिनिन्छन् । समाचार स्रोतका अनुसार आवेदन परेका भन्दा कयौँ आवेदनहरू मध्ये कतिपय आवेदनहरूको शुल्क प्रयोग गर्दा एउटै व्यक्तिको नामबाट धेरै सदस्यता शुल्क भुक्तानी गरिएका प्रमाणहरू भेटिएको छ । जसमा आसन्न निर्वाचनमा उम्मेदवारी घोषणा गरेका व्यक्तिहरूको बैङ्क कार्ड प्रयोग भएको भेटिएको हो । त्यसो त उम्मेदवार घोषणा गरेकै व्यक्तिले आफ्नो बैङ्क कार्ड प्रयोग गरी सदस्यता बनाइरहेको प्रमाण सहित वर्तमान कार्यसमितिका एक उच्च पदाधिकारीले एनआरएन बोर्डमा उजुरी समेत दिइसकेका छन् । 

 एनआरएनए निर्वाचन समितिका प्रमुख   घोतानेले सदस्यता आवेदनका बारेमा विस्तृत छानबिन हुने बताउँदै जुलाई २९ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदानको लागी  समय निर्धारण गरिएको बताए । उनले अष्ट्रेलियाको विभिन्न राज्य अनुसार इएसटी, एसइएसटी र डब्लुएसटीको समय अनुसार निर्वाचनको सुरु र अन्त्य हुने समेत जानकारी दिए। 

घोतानेका अनुसार निर्वाचन सकिएको दुई घण्टाभित्र सम्पूर्ण नतिजा सार्वजनिक गर्ने गरी निर्वाचन समितिले तयारी गरिरहेको छ । उनले नतिजा प्रकाशनमा विगतको जस्तो कुनै पनि ढिलासुस्ती नहुने प्रतिबद्धता समेत जनाएका छन्।  निर्वाचन समितिले मतदाता प्रमाणीकरणका लागि ७ जनाको समितिसमेत गठन गरेको छ। निष्पक्ष र भयरहित निर्वाचन गराउने निर्वाचन समितिको मुख्य उद्देश्य रहेको भन्दै  निर्वाचन समितिका प्रमुख घतानेले यस वर्ष मतदाताको प्रमाणीकरण र मतदान प्रक्रियालाई कडाइका साथ लागु गरिने बताए।  

 निर्वाचन समितिका प्रमुख घोतानेका अनुसार यदि मतदाताले अनलाइनबाट मतदान गर्न नसकेको अवस्थामा अष्ट्रेलियाका आठ राज्यमा निर्वाचन स्थल तोकिएको छ । आठ राज्यमा तोकिएका मतदान स्थलमा राज्य स्तरको निर्वाचन कमिटीका सदस्य र उम्मेदवारका प्रतिनिधिले मतदाताको प्रमाणीकरण गरेर मात्र मतदान गर्न पाइने घोतानेले जानकारी दिए । उक्त पत्रकार सम्मेलनमा निर्वाचन समितिका सदस्य माधव खरेलको पनि उपस्थिति रहेको थियो। एनआरएनए अष्ट्रेलियाले निर्वाचनका लागि  घोतानेको नेतृत्वमा १७ सदस्यीय निर्वाचन कमिटी गठन गरेको थियो।

तपाइँको प्रतिक्रिया