सोमबार, असोज ७, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ११:२४ |सिड्नीको समय: ०९:२४ |काठमाडौंको समय: ०५:०९

उपचार खर्च आफै बेहोर्ने बताएका राष्ट्रपतिलाई सरकारले दियो ५५ लाख !

एएनजेड खबरजुलाइ ५, २०२३

राष्ट्रपति रामचन्द्र पौडेलले आफूले भारतमा गराएको उपचार खर्च आफैले बेहोर्ने बताए पनि सरकारले रकम निकासा गरिदिएको छ। 

यसअघि राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले उपचार खर्च आफैँ बेहोर्ने इच्छा व्यक्त गरेको जनाएको थियो।  तर परराष्ट्र मन्त्रालयले खर्च निकासाको स्वीकृत अर्थ मन्त्रालयलाई दिइसकेको सार्वजनिक भएको हो। 

 परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयको बजेट महाशाखालाई असार १८ गते लेखेको पत्रमा भनेको छ, “यथार्थ खर्चको बिल भर्पाई बमोजिमको रकम सम्बन्धितलाई भुक्तानी दिने प्रयोजनका लागि ५५ लाख दुई हजार २७९ तपसिलको खर्च शीर्षक नम्बर र क्रियाकलापमा बजेट निकासका लागि अर्थ मन्त्रालयमा लेखी पठाउन मिति २०८० असार १८ गते को निर्णय (सचिव स्तर) को प्रतिलिपि र अन्य आवश्यक कागजातहरू यसै साथ संलग्न राखी पठाइएको ब्यहोरा सादर अनुरोध गरिन्छ,” उपसचिव भेषराज भुर्तेलले लेखेको पत्रमा उल्लेख छ ।

वैशाख १९ गते राष्ट्रपतिको स्वकीय सचिवालयले जारी गरेको प्रेस नोटमा “सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयम्ले बेहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ ।” भनी विज्ञप्ति निकालिएको थियो। 

तर राष्ट्रपति पौडेलले उपचार खर्च आफैले बेहोर्न चाहे पनि सरकारले जबरजस्ती तिरिदिन लागेको भने भाष्य खडा हुने अवस्था देखिएको छ। 

तपाइँको प्रतिक्रिया