शुक्रबार, मंसिर ७, २०८१ |Fri Nov, 2024
अक्ल्याण्डको समय: ०१:४४ |सिड्नीको समय: २३:४४ |काठमाडौंको समय: १८:२९

अष्ट्रेलियाकी राजदूत भोल्क र  उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्काबीच भेटवार्ता

एएनजेड खबरजुन २२, २०२३

नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेकी छन्। उनले हिजो वुधवार सिंहदरबारस्थित रक्षा मन्त्रालयमा  शिष्टाचार भेटवार्ता गरेकी हुन्। 

भेटमा सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्काले नेपाल र अष्ट्रेलियाबीच ज्यादै घनिष्ठ सम्बन्ध रहेको बताएका थिए।उनले सरकार दुई पक्षीय सम्बन्ध विस्तार गर्न झनै प्रतिबद्ध रहेको जानकारी दिए। यस अवसरमा राजदूत भोल्क मार्फत द्विपक्षीय सम्बन्ध अझै सुमधुर बनाउनमा विशेष भूमिका खेल्न आग्रह गरिएको रक्षा मन्त्रालयले जनाएको हो। 

उपप्रधानमन्त्री खड्काले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको सुरक्षा एवं संरक्षणका लागि अष्ट्रेलिया सरकारबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका थिए। 

रक्षामा मन्त्रालयमा भएको भेटमा राजदूत भोल्कले नेपाली विद्यार्थी एवं समुदायप्रति अस्ट्रेलियाका जनताको सधै  सद्भाव रहेको बताईन। उनले अष्ट्रेलियामा रहेका विद्यार्थी एवं समुदायका लागि आवश्यक सहयोगका निमित्त अष्ट्रेलियाली सरकार सदैव प्रतिबद्ध रहेको जानकारी दिएकी थिइन्। 

उनले रक्षा क्षेत्रमा दुई देशका सेनाबिच तालिम एवं विभिन्न प्रकारका कार्यक्रममा सहकार्य हुँदै आइरहेको भन्दै आगामी दिनमा यसको निरन्तरता रहने जनाउँदै यस क्षेत्रमा अझै  सहयोग विस्तार गर्ने पर्याप्त सम्भावना रहेको धारणा राखेकी थिइन्।

तपाइँको प्रतिक्रिया