आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०४:३४ |सिड्नीको समय: ०२:३४ |काठमाडौंको समय: २२:१९

केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले एक करोड रुपैयाँ लिएको बयान सार्वजनिक !!

एएनजेड खबरमे २४, २०२३

नक्कली शरणार्थी प्रकरणका मुख्य योजनाकार केशव दुलालले नेकपा एमालेको अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य स्वकीय सचिव राजेश बज्राचार्यलाई एक करोड रुपैयाँ दिएको भनी दिएको बयान सार्वजनिक भएको छ। 

प्रहरीका अनुसन्धान अधिकारीसमक्ष दुलालले तत्कालीन प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव  बज्राचार्यले २०७६ साल असोजमा प्रधानमन्त्री क्वार्टर बालुवाटारमा बोलाएर एक करोड लिएको बताएका हुन्। उनलाई बालुवाटार बज्राचार्यलाई  बोलाएर पैसा दिलाउन टोपबहादुर रायमाझीका स्वकीय सचिव लीला जिसीले भूमिका खेलेका थिए। 

‘तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वार्टर बालुवाटारमा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीमार्फत मलाई बोलाई मिति २०७६ साल असोजमा एक करोड रुपैयाँ नगदै बुझिलिएको,’ भनी दुलालले बयान भनेका थिए। 

मुख्य योजनाकार दुलालले ‘तत्कालीन ऊर्जा मन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीले प्रधानमन्त्रीकोमा पैसा पुगिसक्यो, सामाजिक समितिबाट भुटानी शरणार्थीको विषयमा निर्णय गर्नुपर्ने रहेछ, ऊर्जा मन्त्रीज्यू र मलाई पनि रकम चाहियो भनी ऊर्जा मन्त्रीको क्वार्टर पुलचोकमा बोलाई सामाजिक समितिबाट निर्णय भएको अघिल्लो दिन बेलुका एक करोड नगदै लिएको’ पनि बयानका क्रममा बताएका थिए। 

तत्कालीन प्रधानमन्त्री ओलीका पूर्व सल्लाहकार डा अजय क्रान्ति शाक्य र तत्कालीन काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले पनि जनही एक करोड पैसा लिएको दुलालको बयानमा उल्लेख छ। 

दुलालले तत्कालीन गृहमन्त्री रामबहादुर थापाको परिवार र गृह सचिव प्रेम कुमार राईले पनि  करोडौँ पैसा लिएको बयान दिएका छन्।उनले आफू मार्फत पैसा लिएकाहरूको नाम यस प्रकारले बयान दिएका थिए :-

१. तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई बालुवाटारमै गई १ करोड रुपैयाँ दिएको ।

२. तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलको मन्त्री क्वाटर पुलचोकमै पुगेर ३ करोड रुपैयाँ दिएको ।

३. बादलका छोरालाई १ करोड रुपैयाँ दिएको ।

४. तत्कालीन गृह सचिव प्रेमकुमार राईलाई इन्द्रजित राईमार्फत गृह मन्त्रालयका सचिवको कार्यकक्षमै ३ करोड रुपैयाँ दिएको ।

५. तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व सल्लाहकार डा. अजय क्रान्ति शाक्यलाई १ करोड रुपैयाँ दिएको ।

६. काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यका स्वकीय सचिव राजेश्वर स्थापितलाई १ करोड रुपैयाँ दिएको ।

दुलालले एमाले अध्यक्ष  ओलीकै वरिपरिका मान्छेहरूका बारेमा बयान दिनु, नक्कली शरणार्थी प्रकरणमा ‘ठुला माछा’हरुको नाम आएपछि ओली अधैर्य देखिनु, प्रधानमन्त्रीसँग पटक पटक बैठक बस्नु शङ्कास्पद देखिएको छ। 

यता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पत्नी तथा सांसद आरजु राणा र प्रहरी हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँडकी कान्छी पत्नी तथा समानुपातिक सांसद मञ्जु खाँडबारे बयानमा केही उल्लेख नहुनुमा गम्भीर शङ्का उत्पन्न भएको छ। 

तपाइँको प्रतिक्रिया