आइतबार, असोज ६, २०८१ |Mon Sep, 2024
अक्ल्याण्डको समय: ०२:२८ |सिड्नीको समय: ००:२८ |काठमाडौंको समय: २०:१३

नक्कली शरणार्थी प्रकरण: एकै घरका बाबुछोरा देखि पति पत्नीसम्मको रोचक कनेक्सन 

एएनजेड खबरमे १६, २०२३

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्मकै हाइपोफ़ाईलका आरोपीहरू समातिएका छन्। उपप्रधानमन्त्री तथा पाँच पटक मन्त्री र चार पटक सांसद भइसकेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी भएको करिब १२ दिनमा प्रहरीले समात्न सफल भयो। 

यस अघि समातिएका अभियुक्तहरूको बयानका आधारमा गृहमन्त्री भइसकेका नेपाली काँग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँड पनि चाबहिलमा रहेको आफ्नै निवासबाट समातिए। खाँड मन्त्री भएको बेला गृहमन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डेलाई पनि प्रहरीले यसै घटनामा संलग्न रहेको आशङ्कामा समातिसकेको थियो। 

हालसम्म नक्कली शरणार्थी प्रकरणमा हाइप्रोफ़ाइलका ठुला माछा सहित १४ जनालाई प्रहरीले अनुसन्धानका लागी हिरासतमा राखिसकेको छ। उनीहरूलाई नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै झन्डै डेढ अर्ब रुपैयाँ उठाएर ठगी गरेको आरोप लागेको छ। 

रोचक त के छ भने एकै घरका बाबुछोरा पक्राउ पर्ने र र पति पत्नीलाई नै अभियोग लाग्ने गरेको छ।  यस अभियोगमा बाबु टोपबहादुर पक्राउ पर्नु अघि उनका छोरा सन्दीप प्रहरी खोरमा परिसकेका थिए भने पती बालकृष्ण खाँड पक्राउ परेपछि उनकी कान्छी पत्नी मञ्जु खाँड सम्पर्क भन्दा बाहिर गएको र उनले देश छोडेर अष्ट्रेलियाको सिड्नी पुगेको सञ्चारमाध्यममा आइरहेको छ।  

मञ्जुले शरणार्थी प्रकरणमा बिचौलियाबाट ६ करोड बढी पैसा बुझेको एक अडियो सार्वजनिक भएको थियो। उनी माथि प्रहरीले निगरानी बढाए पनि मञ्जु सिड्नी पुगेको बताइएको हो। 

उता पुर्व गृहमन्त्री तथा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका पुत्र प्रतीकलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ उनी हाल फरार रहेका छन्। त्यस्तै थापा मन्त्री रहेको बेला सुरक्षा सल्लाहकार बनेका ईन्द्रजित राईलाई प्रहरीले यसै प्रकरणमा पक्राउ गरी अनुसन्धान गरिरहेको छ भने उनका छोरा माथि पक्राउ पुर्जी जारी गरिएको छ। 

काँग्रेस नेता तथा पूर्व संविधानसभा सदस्य आङटावा शेर्पा आफूलाई पक्राउ पुर्जी जारी भएको थाहा पाए पछि आफै प्रहरी सामु आत्मसमर्पण गरेका पुगेका छन्। उनी माथि पक्राउ परेका आरोपीलाई भेट्न हिरासत मै पुगेको आरोप लागेको छ। 

तपाइँको प्रतिक्रिया