आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०१:३५ |सिड्नीको समय: २३:३५ |काठमाडौंको समय: १९:२०

हतकडी नलगाउनुको नतिजा : खाँडले प्रहरीबाटै खोसेर चपाइदिए प्रमाणको कागज 

एएनजेड खबरमे १३, २०२३

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँडले आफू मुछिन सक्ने मुख्य प्रमाणको कागज चपाएर निलेको तथ्य बाहिरिएको छ। आज ‘नयाँ पत्रिका’मा छापिएको समाचार अनुसार उनले प्रहरी इन्स्पेक्टरको हातबाट सो कागज खोसेर मुखमा हाली चपाएर निलेका हुन् ।  

चाबहिलस्थित घरमा खाँडलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीले घरमा खानतलासी गर्दा एउटा गोप्य कागजको पत्र पनि बरामद भएको थियो । तर, एक छिनमै प्रहरीको हातबाट खोसेर खाँडले त्यो कागज चपाएर निलिदिएका थिए ,भन्दै सो पत्रिकाले लेखेको छ । 

पक्राउ गर्न गएको टोलीका इन्स्पेक्टर राजन लामाले खाँडका भान्सेको साथबाट सो पत्र बरामद गरेका थिए । खाँडले सो पत्र भान्सेमार्फत थुनामा रहेका  सरकारका सचिव टेकनारायण पाण्डेलाई  दिन खोजेको प्रहरीले पत्ता लगाएको छ । 

 खाँडले आफूमाथि लागेको नक्कली शरणार्थी बनाई ठगी गर्ने प्रकरणमा सो पत्र आफू विरुद्धको बलियो प्रमाण हुने थाहा पाएपछि प्रहरीबाट खोसेर चपाइदिएको प्रहरीको अनुमान रहेको पनि पत्रिकाले छापेको छ। 

खाँडलाई प्रहरीले पक्राउ गरेपछि हतकडी लगाएको थिएन। हतकडी नलगाउनुको फाइदा उठाउँदै उनले उक्त पत्र खोस्न भ्याएका थिए। प्रहरीले कुनै पनि अभियुक्तलाई पक्राउ गर्दा उत्पन्न हुने खतरालाई नजर अन्दाज गरेको देखिन्छ। खाँडले आफू विरुद्ध ठुलो प्रमाण हुनसक्ने पत्र चपाएर खाइदिनु प्रहरीको लागी ठुलो मूल्य चुकाउनु पर्ने हुनसक्छ। 

तपाइँको प्रतिक्रिया