आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ००:२१ |सिड्नीको समय: २२:२१ |काठमाडौंको समय: १८:०६

टोपबहादुर फरार हुनुमा आइजिपी वसन्त कुँवरको भूमिका देखियो !!

एएनजेड खबरमे ८, २०२३

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझी फरार हुनुमा प्रहरी महानिरीक्षक वसन्त कुँवरको भूमिका रहेको देखिएको छ । 

टोपबहादुर रायमाझी

 शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै धेरै नेपालीबाट एक अर्ब बढी रकम ठगेको आरोपमा अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेका   टोपबहादुरलाई पक्राउ गर्न गएको रुपन्देही प्रहरीलाई आइजिपी कुँवरले फिर्ता बोलाएका थिए । आइजिपीले पक्राउ नगरी फिर्ता हुने निर्देशन  नदिएको हुन्थ्यो भने टोपबहादुर पक्राउ परी अनुसन्धानको दायरामा आइसक्ने देखिन्छ । 

सो समयमा आइजिपी कुँवर बुटवलमै रहेको र टोपबहादुरसँग फोनमा कुराकानी गरेपछि पक्राउ गर्न गएको प्रहरीलाई तुरुन्त फिर्ता हुन निर्देशन दिएको खुल्न आएको हो। आइजिपी र फरार रहेका टोपबहादुरबिच भएको टेलिफोन कुराकानीमा टोपबहादुरले आइजिपी कुँवरलाई आफैँ प्रहरी कार्यालयमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्ने बताएका र आइजिपीले आफैँ आउने भएपछि पक्राउ नगर्न निर्देशन दिएको प्रहरी श्रोतले बताएको छ। टोपबहादुरले आफैँ आएर प्रहरीलाई अनुसन्धानमा सहयोग गर्ने वचन दिएपछि आइजिपी कुँवरले पक्राउ गर्न पुगेको प्रहरीलाई ‘रिट्रिट’ गराएका थिए। 

प्रहरी स्रोतका अनुसार उपप्रधानमन्त्री भइसकेको व्यक्तिले आफैँ आएर अनुसन्धानलाई सहयोग गर्ने बताए पछि  टोपबहादुर नभाग्ने विश्वासमा आइजिपी कुँवर रहेका थिए। टोपबहादुरको सोही भनाइले आइजिपी कुँवर बहकाउमा परेको पनि अनुमान लगाउन गारो छैन। अनुसन्धानको लागी अदालतबाट पक्राउ पुर्जी जारी भएको व्यक्तिलाई प्रहरीको नेतृत्वबाट नै फरार हुने मौका दिनु भनेको गम्भीर विषय बन्न पुगेको छ। 

टोपबहादुर आफैँ प्रहरी समक्ष उपस्थित हुनेमा ढुक्क रहेका आइजिपीलाई चक्मा खुवाएर उनी एक हप्ता देखि गुमनाम छन्।  उनका छोरा सन्दीपलाई भने प्रहरीले बुटवलबाट पक्राउ गरेर अदालतमा पेस गराइसकेको छ । तर छोरो समातिन साथै टोपबहादुर पनि मोबाइल फोन स्विच अफ गरेर भूमिगत हुन पुगे। 

एकाएक फरार हुन पुगेका टोपबहादुरलाई प्रहरीको माथिल्लो निकायले नै भगाउन सहयोग गरेको हो कि भन्ने प्रश्न उब्जिएको छ। आइजिपीले पक्राउ गर्न गएको प्रहरी टोलीलाई फिर्ता बोलाउनु र तुरुन्तै टोपबहादुर गायब हुनुमा आइजिपी कुँवरको भूमिका रहेको भन्दै चौतर्फी आलोचना हुन थालेको छ। 

टोपबहादुरलाई राजनीतिक संरक्षण पनि उत्तिकै रहेको छ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले  प्रधानमन्त्रीलाई भेटेर दबाब समेत दिएको कुरा सञ्चार माध्यममा आइसकेको छ। उनले  उपप्रधानमन्त्री भइसकेको व्यक्तिलाई पक्राउ गर्न नहुने भन्दै घुमाउरो शैलीमा बचाउ समेत गरेका थिए।ओलीले प्रधानमन्त्रीलाई दुई पटक भेटेर  टोपबहादुरलाई पक्राउ नगर्न दबाब दिएका थिए। 

तपाइँको प्रतिक्रिया