शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ११:५३ |सिड्नीको समय: ०९:५३ |काठमाडौंको समय: ०५:३८

काठमाडौँ-अष्ट्रेलिया उडान निकट भविष्यमा, अन्तिम अनुमतिको पर्खाइमा नेपाल वायुसेवा निगम 

एएनजेड खबरमे ३, २०२३

नेपाल वायुसेवा निगमले काठमाडौँ-अष्ट्रेलिया उडानका लागि प्रक्रिया सुरु गरेको छ। काठमाडौँ-सिंगापुर-सिड्नी उडान गर्ने योजनामा रहेको नेपाल एयरलाइन्सले सिड्नीस्थित किंसफोर्ड स्मिथ विमानस्थललाई पहिलो रोजाइमा प्रस्ताव अघि सारेको निगमले जनाएको हो । 

निगमले किंसफोर्ड स्मिथ विमानस्थललाई ग्राउन्ड ह्यान्डलिङ तयारीका लागि प्रक्रिया अगाडि बढाउन प्रस्ताव राखेको नेपाल वायुसेवा निगमका सूचना अधिकारी गणेश घिमिरेले जानकारी दिए । एएण्डजेड खबर प्रतिनिधिसँग कुरा गर्दै उनले भने,’ हामीले आवश्यक सम्बन्धित सबै कागजपत्र पठाउने काम गरिरहेका छौँ, निगमले पठाएको डकुमेन्टबारे अष्ट्रेलिया सरकारले कस्तो प्रतिक्रिया दिन्छ त्यसको प्रतिक्षमामा छौं, सोही आधारमा थप प्रक्रिया अघि बढ्ने छ’,।

 घिमिरेले निगमले आवश्यक अनुमति पाएको खण्डमा जुन महिनाको पहिलो साताको वरिपरि  नेपाली ध्वजावाहक जहाज अस्ट्रेलियामा अवतरण गराउने पहल भइरहेको बताए। उनले भने ‘,पहल भइरहेको छ, यही मितिमा हुन्छ भन्ने निश्चित भइसकेको छैन। हाम्रो टार्गेट चैँ सोही मितिमा गर्ने भन्ने हो काम गरिरहेका छौँ पहल भइरहेको छ आशा गरौँ छिट्टै  हुनेछ।’, 

उच्च शिक्षाका लागि नेपाल-अष्ट्रेलिया आउजाउ गर्ने नेपालीसँगै दुईतर्फी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखेर  सिड्नीतर्फ नियमित उडान विस्तार गर्ने निगमको योजना रहेको छ। 

निगमले नयाँ एयरक्राफ्ट खरिदका निम्ति मन्त्रालयलाई सिफारिस गरेको पनि  सूचना अधिकारी घिमिरेले सुनाए । उनले भने,’ हामीसँग अहिले भएका विमानहरूले थप देशको उडानको लागी धान्न सक्दैन, नयाँ एयरक्राफ्ट खरिदको लागी मन्त्रालयलाई पत्राचार गरिसकेका छौँ,आवश्यक प्रक्रिया अघि बढिरहेको छ’,। 

तत्कालै अष्ट्रेलिया उडानको लागी अनुमति आए निगमले कसरी व्यवस्थापन गर्ला त? भन्ने हाम्रो प्रश्नमा घिमिरेले भने ,’तत्कालै हुने सम्भावना कमै छ यदि भएको खण्डमा कम नाफामूलक क्षेत्रको उडान कटौती गरेर भए पनि उडान त सुरु गर्नु पर्ने नै हुन्छ,’। 

सन् २०१९ मा नेपाल र अष्ट्रेलियाबीच विमान उडाउन पाउने एयर सर्भिस एग्रिमेन्ट भएको ४ वर्षपछि नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्रमार्फत नेपाल एयरलाइन्सलाई अस्ट्रेलिया उडानको लागि आधिकारिक वायुसेवा तोकेको थियो।

सरकारको  यस निर्णयलाई अस्ट्रेलियास्थित नेपाली राजदूतावासले अष्ट्रेलियन सरकारको सम्बन्धित निकायलाई पत्राचार गरिसकेको छ भने अब केही समयपछि उडानको प्रारम्भिक ढोका खुल्ने निश्चित भएको हो। 

तपाइँको प्रतिक्रिया