आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १८:२९ |सिड्नीको समय: १६:२९ |काठमाडौंको समय: १२:१४

आज ३ बजे आठौँपटक मन्त्रीपरिषद विस्तार हुँदै !

एएनजेड खबरअप्रिल १६, २०२३

आज मन्त्रीपरिषद विस्तार हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नेपाली कांग्रेसबाट एनपी साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्दै आठौँपटक मन्त्रीपरिषद विस्तार गर्न लागेका हुन् ।

साउदलाई आज दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ खुवाउने तयारी छ। कांग्रेसले आफ्नो भागमा परेको ३ मन्त्रालयमा अझै मन्त्री छान्न सकेको छैन।

यसअघि पटकपटक मन्त्रीपरिषद विस्तार भएतापनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन।प्रधानमन्त्रीसँग अझै ६ मन्त्रालय रहेको छ।

प्रधानमन्त्री प्रचण्डले आज साउदलाई परराष्ट्रमन्त्री बनाएपछि पनि उनको जिम्मेवारीमा अझै ५ मन्त्रालय रहने छन्। कानुन, न्याय तथा संसदीय मामिला, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद र खानेपानी तथा सरसफाइ मन्त्रालय बाँकी रहने भएका हुन्।

कांग्रेसको भागमा परेको ३ मन्त्रालय (कानुन, न्याय तथा संसदीय मामिला, स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद) बाँकी रहनेछन्।

कांग्रेसबाट उपप्रधान तथा रक्षामन्त्रीमा पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा डा. प्रकाशशरण महत, सहरी विकासमन्त्रीमा सीता गुरुङ र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा रमेश रिजाल नियुक्त भइसकेका छन्।

नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री, शक्ति बस्नेत ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री, सुदन किराँती संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएका छन्। यस्तै माओवादी केन्द्रबाट सुशीला सिर्पाली ठकुरी राज्यमन्त्री बनेकी छन्।

नेकपा एकीकृत समाजवादीबाट वेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन्। जसपाबाट अशोक राई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र लोसपाबाट शरत्‌सिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भएका छन्।

यसैगरी नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र बाबुराम भट्टराईको नेसपाबाट महिन्द्र राय यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन्।

खानेपानी मन्त्रालय पाएको जनमत पार्टी भने उद्योग मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिसकेको छ। जनमतबाट अब्दुल खान खानेपानी मन्त्री थिए।

तपाइँको प्रतिक्रिया