शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:४१ |सिड्नीको समय: ०७:४१ |काठमाडौंको समय: ०३:२६

वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका जारी भएपनि एनओसी शाखामा चाप घटेन

एएनजेड खबरअप्रिल १३, २०२३

सरकारले वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका जारी गरे पनि शिक्षा मन्त्रालयको (नो अब्जेक्सन लेटर)एनओसी शाखामा विदेश अध्ययन गर्न जान इच्छुक विद्यार्थीको चाप घटेको छैन ।

‘एएण्डजेड खवर’ प्रतिनिधि आज भक्तपुरको, सानो ठिमीस्थित शिक्षा मन्त्रालय अन्तर्गतको एनओसी शाखामा पुग्दा त्यहाँ एनओसी लिनका लागि बनाइएको सात वटा लाइनमध्ये प्रत्येक लाइनमा विद्यार्थीको चाप निर्देशिका जारी हुनुअघि जत्तिकै देख्न सकिन्थ्यो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको निर्देशिकाले आइएलटिएसमा कम स्कोर ल्याउने विद्यार्थीले वैकल्पिक विषय अध्ययन गर्नका लागि एनओसी नदिने व्यवस्था गरेको छ । तर, कन्सल्टेसीहरुले त्यस्ता विद्यार्थीले मेन कोर्षमा ब्याचलर तथा दुई वर्षे स्नातकोत्तर अध्ययनको डकुमेन्ट बनाएका कारण विद्यार्थीहरूको चाप नघटेको हो ।

विद्यार्थी पलायनसँगै देशको ढुकुटीमा समेत संकट आएपछि उक्त कार्यलाई नियन्त्रण गर्न नेपाल सरकारले वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका जारी गरेको बताएको छ ,यद्यपि शिक्षा मन्त्रालयको निर्देशिका जारी भएपनि एनओसी शाखामा विदेश अध्ययन गर्न जान इच्छुक विद्यार्थीको चाप घटेको छैन ।

एनओसी शाखाका एक कर्मचारी भन्छन्, ‘निर्देशिकासँग नबाझिमे डकुमेन्ट ल्याएपछि हामीसँग बोल्ने ठाउँ हुँदैन । उनले भने,’सोही कागजपत्रको आधारमा पत्र दिने गरेको छ।’

विदेशमा अध्ययन गर्न जाने नाममा बर्सेनि ५० अर्ब भन्दा बढी नेपाली रुपैयाँ बिदेसिने गरेको सर्वेक्षणले देखाएको छ । देशबाट वार्षिक १ लाख भन्दा बढी विद्यार्थीहरू बाहिरिने गरेका छन् । वैदेशिक अध्ययनका नाममा विभिन्न खालका विकृति तथा विसङ्गति देखिएको भन्दै सरकारले यसलाई कडाइ गर्न निर्देशिका जारी गरेको मन्त्रालयको दाबी छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी निर्देशिकाले एनओसी प्राप्त गर्न केही प्रावधानसहित नयाँ व्यवस्था गरेको छ ।निर्देशिकाले अनुमति लिने चरण, शिक्षण संस्था र विषय छनोट, विदेशी मुद्रा सटहीलगायतका प्रक्रियामा कडाइ गरिएको छ ।

निर्देशिकाले उच्च शिक्षालाई पनि पहिलाको भन्दा फरक तरिकाले व्याख्या गरेको छ। उसले उच्च शिक्षा भन्नाले स्नातक र त्यसभन्दा माथिलाई जनाउदै उक्त तहका लागि मात्र एनओसी दिने जनाएको हो । निर्देशिका जारी हुनुअघि भाषा, तालिम र डिप्लोमा कोर्स गर्न जाँदा समेत विद्यार्थीको लागी एनओसी दिने गरिएको थियो । तर सरकारले जारी गरेको यस निर्देशिका लागू भएपछि भने उच्च शिक्षाका लागि मात्र एनओसी लिन पाइने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशिकामा उल्लेख गरेको छ ।

तपाइँको प्रतिक्रिया