आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १७:४४ |सिड्नीको समय: १५:४४ |काठमाडौंको समय: ११:२९

टीआरसीलगायत विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने तीन दलको सहमति

एएनजेड खबरअप्रिल ११, २०२३

प्रमुख तीन ठूला दलबीच सङ्क्रमणकालीन न्याय निरुपणसम्बन्धी विधेयकलाई न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ ।

बालुवाटारस्थित सभामुख देवराज घिमिरेको निवासमा बसेको बैठकमा दलहरुबीच सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषय र प्रक्रियामा पुनः छलफल गर्ने सहमति भएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए।

सो विधेयकलाई अगाडि बढाउने, सदनलाई प्रभावकारी बनाउने विषयमा सभामुख घिमिरेको संयोजनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्षनेता छलफलमा जुटेका हुन् । शीर्षनेताहरु सङ्घीय संसद्का संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुङ्गो लगाउन सहमत हुनुभएको उनको भनाइ छ । अर्को बैठक आगामी वैशाख १ गते अपराह्न १ बजे सिंहदरबारमा बस्ने संयोजक अधिकारीले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी थिए।

त्यसैगरी, बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने, महान्यायाधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडालको पनि सहभागिता थियो ।

तपाइँको प्रतिक्रिया