शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ११:५५ |सिड्नीको समय: ०९:५५ |काठमाडौंको समय: ०५:४०

अस्ट्रेलियाको स्थानिय निर्वाचनमा सात नेपाली उम्मेदवारहरु, को कति बलियो

प्रकाश हुमागाँई/सिड्नीनोभेम्बर ९, २०२१
This image has an empty alt attribute; its file name is 2.png


सिडनी । अस्ट्रेलियामा यही डिसेम्वर ४, २०२१ मा हुने स्थानीय निर्वाचनका लागि नेपाली उम्मेदवारको लर्को लाग्दैछ । विभिन्न क्षेत्रबाट नेपालीले उम्मेदवारी दिएका खबर आइरहेका छन्, जसले अस्ट्रेलियाको राजनीतिमा नेपालीको पहुँच र प्रभाव बढ्दै गएको संकेत गर्छ ।


हालसम्म उम्मेदवारका रुपमा अगाडि आएका नेपालीमा अन्जना बस्नेत, दिपेश चिलवाल, अनन्त कार्की (एलेक्स), अस्मिता खरेल, विनोद पौडेल उनकी पत्नी जिपसोना पौडेल, भद्र वाइवा र अस्मिता खरेल रहेका छन्, जो विभिन्न क्षेत्रबाट चुनावी मैदानमा भिड्दैछन् ।

तर अष्ट्रेलियाको स्थानीय राजनीतिलाई नजिकबाट बुझेका जानकारहरु अहिले देखिएका अनुहारहरुले निर्वाचनमा बिजय हासिल गर्ने भन्दापनि अष्ट्रेलियाली मुलधारको राजनीतिमा नेपालीहरुको पहुँच छ भन्ने उत्प्रेरणा अरु नेपालीमा समेत पुगोस् भन्ने हेतुले समावेश भएको तर्क गरेका छन् ।
अहिले उम्मेदवारी घोषणा गरेका ७ उम्मेदवार मध्ये लेवर पार्टीको तर्फबाट क्यान्टरबरी बैंकस्टाउन काउन्सीलको रोजल्याण्डस् वार्डबाट उम्मेदवारी दिएकी भद्रा वाईवा सबैभन्दा बलियो उम्मेदवार रहेको र बाँकी ६ उम्मेदवारले निर्वाचनमा जीत हात पार्न निक्कै कसरत गर्नुपर्ने विश्लेषकहरुको दाबी छ ।


लिभरपुलमा दिपेशको ललकार
अस्ट्रेलियाको सिड्नीस्थित लिभरपुल सिटीको काउन्सिलर पदमा नेपाली युवा दिपेश चिलुवालले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । डिसेम्वर ४ मा हुने निर्वाचनका लागि मनोनित भएसँगै चिलुवाल चुनावी प्रचार प्रसारमा जुटेका छन् ।
अस्ट्रेलियास्थित ‘एडमन्सन पार्क बार्डियाको पूर्व महासचिव दिपेस पनि स्थानीय समुदायमा प्रभावशाली मानिन्छन् । एडमन्सन पार्कमा रहेका र आगामी दिनमा बस्न चाहने नेपालीलाई एकढिक्का बनाउने र आवश्यक सल्लाह र सहयोग गर्न यो समूह मार्फत दिपेशले सक्रियता देखाउँदै आएका छन् ।


मैदानमा अन्जनाको ‘एली’
न्यू साउथ वेल्समा हुन लागेको स्थानीय निर्वाचनमा नर्थ सिडनी काउन्सलर पदमा अन्जना बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् ।
अन्जनाले ५ जनाको प्यानल नै बनाएकी छिन्, जसको नाम ‘एली’ राखिएको छ । अन्जनाको समूहबाट काउन्सलर पदमा एलि प्रिभोष्ट, क्यान्डिस बोथ, मेलिन्डा स्मिथ र मिसेल लिंगमले पनि उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेस निकटहरुको संस्था अस्ट्रेलियन डेमोक्रेटिक फोरमकी सामाजिक तथा सांस्कृतिक संयोजक अन्जना सन् २००६ मा अस्ट्रेलिया आएकी थिइन् ।
हिमानी कोष, अस्ट्रेलियाकी संस्थापक अध्यक्ष समेत रहेकी बस्नेत पछिल्लो समयमा अष्ट्रेलियाको नेपाली समाजमा सक्रिय महिलाको रुपमा परिचित छिन् । लिवरल पार्टीको महिला विभागमा रहेर काम गरिसकेकी अन्जनाको स्थानीय समुदायमा प्रभाव देखिन्छ ।


भद्राको संभावना बलियो
यसैगरी न्यू साउथवेल्स लेवर पार्टीले क्यान्टरबरी बैंकस्टाउन काउन्सीलको रोजल्याण्डस् वार्डको लागि कार्ल सालेह ओएएमको टोलीलाई आधिकारिक रुपमा समर्थन गरिसकेको छ, जुन टोलीमा नेपाली उम्मेदवार भद्रा वाइबा पनि काउन्सलर उम्मेदवार छिन् ।
लेवर पार्टीको समर्थन पाएपछि सालेहले भनेका छन्, ‘म भद्रा वाइबा र मोहम्मद कबीरको इमान्दार र विश्वासिलो टिमसँग काम गर्न पाउँदा गर्व गर्छु । यो टोलीले हाम्रो समुदायको विविधता प्रतिबिम्बित गर्ने र स्थानीय समुदायको लागि कडा परिश्रम गर्दै आएको छ ।’
सालेहले नेपाली उम्मेदवार भद्राको प्रशंसा गरेका छन् । उनले भनेका छन्, ‘भद्रा वाइबा एक अग्रपँक्तिकी नर्स हुन्, जसले हाम्रो स्थानीय समुदायका कमजोर मानिसलाई सहयोग गर्न कोविड–१९ महामारीका बेला अथक परिश्रम गरिन् ।’
सन् २०१९ मा भद्रालाई अस्ट्रेलियाका महिला मन्त्री तथा लाकेम्बा राज्यकी सांसद जिहाद दिले स्थानीय समुदायमा गरेको सेवाका लागि ‘न्यू साउथवेल्स स्थानीय महिला वर्ष’को उपाधिबाट सम्मानित् गरेकी थिइन् । यस क्षेत्रमा लेवर पार्टीको पकड रहनुका अलावा भद्राको ख्याती र योगदानका कारण उनको जित्ने प्रबल सम्भावना छ ।


पौडेल दम्पतीको दुन्दुभी
यसैगरी न्यु साउथवेल्स राज्य, क्याम्पेलटाउन सिटीको काउन्सिलर पदमा नेपाली दम्पती बिनोद पौडेल र जिपसोना पौडेलले उम्मेदवारी घोषणा गरेका छन् ।
विवाहको दशौं वार्षिकीका अवसरमा यो दम्पतीले सार्वजनिक गरेको उम्मेदवारीलाई सत्तारुढ लिवरल पार्टीले अनुमोदन गरिसकेको छ ।
सन् २००७ मा अध्ययनका लागि अष्ट्रेलिया आएका बिनोद र जिम्पसोना सन् २०१२ देखि नै लिवरल पार्टीको सदस्य छन् । बिनोद चाहिँ सन् २०१३ देखि १५ सम्म राज्य सरकारको मन्त्रीस्तरीय सल्लाहकार समितिको संयोजक रहिसकेका छन् । चितवनका बिनोद मोटिभेसनल कोच हुन भने धरानकी जिम्पसोना नारी निकुञ्ज अष्ट्रेलियाको कोषाध्यक्ष छिन् । विशेषतः युवापंक्ती माझ लोकप्रिय रहेका बिनोद दम्पती लेबरको पकड रहेको क्याम्पबलटाउन क्षेत्रबाट लिवरल पार्टीबाट चुनाव लड्दै गर्दा पनि यस क्षेत्रको नेपालीमुलका अष्ट्रेलियनहरुको मत आफूहरुले पाउनेमा निश्चित छन् ।


हिल साईड काउन्सीलमा एलेक्स
अष्ट्रेलियाको मुख्य राजनीतिक दल लेबर पार्टीले एलेक्स कार्की (अनन्त)लाई सिड्नीको द हिल स्राइन काउन्सिलको काउन्सिलर पदमा उम्मेदवार बनाएको छ । ३७ वर्षका नेपाली इन्जिनियर एलेक्स कार्की काउन्सिलको चार वटा वडा मध्ये वेष्ट वार्डबाट निर्वाचनमा सहभागी हुँदैछन् । ३ जनाको समूह रहेको एलेक्सको टिममा बारबरा बुर्टन र मोनिका ट्रेसी सहितको तीन जनाको समूह रहेको छ । जसमा एलेक्स दोस्रो नम्बरमा रहेका छन् ।
दोलखामा जन्मिएका एलेक्स सन् २००३ मा अष्ट्रेलिया आएका थिए भने सन् २००७ देखि उनी लेवर पार्टीको सदस्यता लिएर स्थानीय राजनीतिमा सक्रिय रहँदै आएका छन् ।


लेबर पार्टीबाट अस्मिताको उम्मेदवारी
नेपालीहरुको बाक्लो बस्ती रहेको क्याम्पबेलटाउन काउन्सिलमा काउन्सिलर पदमा लेवर पार्टीको तर्फबाट अस्मिता खरेल पौडेल निर्वाचनमा उम्मेवारी दिने निश्चित भएको छ ।
लेबर पार्टीको स्थानीय राजनीतिमा सक्रिय अस्मिताको पिता टुङ्गनाथ खरेलले छोरी अस्मिता उम्मेदावर बन्ने निश्चित भएको जानकारी सामाजिक सञ्जालमार्फत दिँदै सहयोगको लागि सबैमा अनुरोध समेत गरेका छन् ।
क्याम्पबलटाउन काउन्सीलमा लेबर पार्टीको पकड रहेको भएपनि विजयी हुने प्राथमिकताका आधारमा पार्टीले उम्मेदवारहरुको नम्बर तोक्ने चलन रहेको र सामान्य अवस्थामा माथिल्लो नम्बरमा रहेका उम्मेदवारहरुलाई जित्न सहज हुने भएकाले अस्मिताको उम्मेद्वारी नम्बरको आधारमा उनको निर्वाचनको परिणाम छिनोफानो हुने जानकारहरु बताउँछन् ।



बढदैछ, पहुँच र प्रभाव
अस्ट्रेलियामा शिक्षा र रोजगारी मात्र हैन, राजनीतिमा नेपालीको सहभागिता बढ्न थालेको यसबाट स्पष्ट हुन्छ । स्थानीय निकायदेखि संघिय तहसम्मकै चुनावमा नेपालीको पहुँच बढ्दैछ ।
सन् २०१९ को निर्वाचनमा तात्कालीन सत्तासीन लिवरल पार्टीले नेपाली युवा प्रमेज श्रेष्ठलाई बार्टन क्षेत्रबाट संघीय संसदकै उम्मेदबार बनाएको थियो । यसैगरी तेश्रो ठूलो दल ग्रिन्सले पश्चिम अस्ट्रेलियाबाट नेपाली मूलका युवा भवुन खडेकालाई माथिल्लो सदन सिनेट सदस्यका लागि सिफारिश गरेको थियो ।
अस्ट्रेलियामा नेपालीको संख्या हरेक वर्ष बढदैछ । सन् २००५ यता अस्ट्रेलियामा नेपालीको संख्या हवात्तै बढेको हो । अस्ट्रेलियामा हरेक वर्ष करीब २८ प्रतिशतका दरले नेपालीको संख्या बढीरहेको तथ्यांकहरुले देखाएका छन् ।
सन् २००५ मा करिब ४ हजार नेपाली थिए । अहिले यो संख्या बढेर ५५ हजार भएको अस्ट्रेलियाको जनगणना रिपोर्टमा उल्लेख छ ।
अध्यागमन विभागका अनुसार गत वर्ष सन् २०१९÷२० मा मात्र वार्षिक आप्रवासी कार्यक्रम अनुसार ५ हजार बढी नेपालीले पिआर पाए ।
यसरी नेपालीको संख्या बढेसँगै अस्ट्रेलियाका प्रमुख दुइ राजनीतिक दल लेवर पार्टी र लिवरल पार्टीले नेपाली समुदायमा आफ्नो सक्रियता बढाएका छन् । उनीहरुले नेपालीमाझ आफू समर्थक सँगठनसमेत बनाएका छन् । लिबरल, लेबर र अन्य पार्टीको सदस्यता लिएका र संगठनमा सक्रियता देखाएका नेपालीले विभिन्न पदमा उम्मेदवारीको मौका पाउन थालेका छन् ।
आप्रवासीको संख्या बढदै गएको अस्ट्रेलियामा नेपालीले पनि आफ्नो भिन्नै पहुँच र स्थान राजनीतिक तहसम्मै निर्माण गर्न थालेको देखिन्छ ।


तपाइँको प्रतिक्रिया