बिहीबार, असोज ३, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०४:४८ |सिड्नीको समय: ०२:४८ |काठमाडौंको समय: २२:३३

अष्ट्रेलिया आगमनमा ५० प्रतिशत कटौती, कोभिडविरुद्ध चार चरणका सुधार योजना सार्वजनिक

प्रकाश हुमागाँई/सिड्नीजुलाइ २, २०२१


यो वर्ष घुम्ने तालिकामा तपाईंले अष्ट्रेलिया भ्रमणको योजना बनाउनु भएको त छैन ? आफन्तले बोलाएका पो छन् कि ? छोराछोरी, छोरी ज्वाइँ, नातिनातिनासंग भेटघाटको कार्यक्रम पो थियो कि ? यो वर्ष जे भएपनि कार्यक्रम थाती राखिदिनुस् । दुवैतिरको स्वास्थ्य संवेदनशीलताले तपाईंको त्यो रुचिलाई छुट दिँदैन I

कोरोना भाइरसको अति नै संक्रमणकारी मानिएको डेल्टा भेरिएन्टबाट उत्पन्न हुनसक्ने थप जोखिमबाट मानवीय क्षति हुन नदिन अस्ट्रेलिया सरकारले आगन्तुक संख्यालाई व्यापक कटौती गरेको छ । यो निर्णयले नेपाली समुदाय पनि प्रत्यक्ष प्रभावित हुनेछ । यहाँको सरकारले विदेशी यात्रुहरुको आगमन कम्तिमा अर्को सालसम्मका लागि कटौती गरेको छ । शुक्रबार बसेको राष्ट्रिय मन्त्रिपरिषद् बैठकले हरेक हप्ता अष्ट्रेलिया भित्रिने यात्रु संख्या ६ हजारबाट घटाएर झन्डै ३ हजार सीमित गरेको छ ।


प्रधानमन्त्री स्कट मोरिसनकाअनुसार विशेषज्ञ, स्वास्थ्य अवस्था, शोध र प्रादेशिक सरकार प्रमुखहरुको योजनामा यस्तो सहमति भएको हो । प्रधानमन्त्री मोरिसन भन्छन– ‘पहिलो चरणमा भाइरसलाई दमन गर्ने रणनीति कायमै रहने छ । खोप लगाएको मानव संख्याको आधारमा आगामी कार्ययोजना निर्देशित हुनेछ ।’ कति जना मानिसलाई कोभिड–१९ का अल्फा तथा डेल्टा दुवै भेरिएन्ट विरुद्ध खोप लगाउनुपर्छ भन्ने तथ्य आधारित रहेर मेलबर्न स्थित डोहर्टी इन्स्टिच्युटले दिएको रिपोर्टका आधारमा सरकार यो निर्णयमा पुगेको बताइएको छ ।


‘लकडाउनलाई अन्तिम अस्त्रका रूपमा प्रयोग गर्ने बारे पनि राष्ट्रिय मन्त्रिपरिषद् सहमत भएको छ ।’ मन्त्रिपरिषद्को बैठकपछि सञ्चारमाध्यमबाट देशवासीलाई सन्देश दिँदै प्रधानमन्त्री मोरिसनले भने– ‘यदि तपाईंले खोप लगाउनुभयो भने हामी कसरी जीवनयापन गर्छौं भनेर आफूभित्र परिवर्तन ल्याउन सक्नुहुनेछ ।’
सरकारको निर्णय यो विदेशमा फसेका अस्ट्रेलियालीलाई घर फिर्ता ल्याउने काममा बाधक बन्ने छैन ।


यसैगरी अष्ट्रेलियाली सरकारले कोरोनामाथि विजय पाउन चार चरणका योजना सार्वजनिक गरेको छ । पहिलो चरण खोप लगाउनु अगाडिको अवस्थालाई मानिएको छ । यो चरणमा खोप अभियान प्रभावकारी बनाउने, लकडाउन र क्वारेन्टिनका विकल्पलाई प्रभावकारी बनाइने छ । हाल मेडिकेयर मार्फत जारी हुने खोप सम्बन्धी प्रमाणपत्र मोबाइल फोन जस्ता विद्युतीय उपकरणबाट पनि उपलब्ध गराइने छ । यसबाहेक राष्ट्रिय होटेल क्वारेन्टिन सञ्जाल उपलब्धि र सुधारका विषयमा थप समीक्षा हुनेछ । संघीय सरकारले हावर्ड स्प्रिङ्ग्स क्वारेन्टिन केन्द्रमा थप मानिसका लागि स्थान उपलब्ध गराउने निर्णय सरकारले लिएको छ ।


खोपपछिको अवस्थालाई दोस्रो चरण मानिएको छ । यो समयमा गम्भीर प्रकृतिका बिरामीलाई अस्पताल भर्ना गरिने छ । कोभिडबाट मृत्यु हुनेको संख्या न्यूनिकरण गर्ने तर्फ सम्पूर्ण प्रयास केन्द्रित हुनेछ । यसपछि अष्ट्रेलिया प्रवेश चाहनेको संख्यालाई थप खुकुलो बनाइने र खोप लगाएकालाई यात्रामा प्राथमिकता दिइने छ ।


प्रधानमन्त्री मोरिसनका अनुसार तेस्रो चरणको कोभिड प्रतिरक्षाको लक्ष्य कोभिड–१९ लाई पनि फ्लु जस्तै सरूवा रोग मानेर सार्वजनिक प्रतिक्रिया जनाइने छ । यसपछि लकडाउनलाई पूर्णत निषेध गरिने छ । तेस्रो चरण पार गरेपछि अष्ट्रेलिया भित्रिने र बाहिरिने खोप लगाइसकेका मानिसमा कुनै बन्देज लगाइने छैन । अष्ट्रेलिया पढ्न आउने विद्यार्थीका लागि पनि प्रवेशको बाटो खुल्ला हुने बताइएको छ ।
चौथो चरणलाई सामान्य अवस्थाको रुपमा व्याख्या गरिएको छ । यसले देशलाई सदाकै अवस्थामा पु¥याउने प्रधानमन्त्रीको अठोट छ । यो अवस्थामा खोप नलगाएकाले सहज ढंगले अष्ट्रेलियाको प्रवेश पाउने छन् । तर त्यो उडान पूर्व र पछिको कोभिड–१९ परीक्षण नतिजामा निर्भर रहने छ ।

तपाइँको प्रतिक्रिया